वाल्ट डिज्नीले एफटीसीको आरोप सुल्झाउन १ करोड डलर तिर्ने

Technology Khabar १९ भाद्र २०८२, बिहीबार

वाल्ट डिज्नीले एफटीसीको आरोप सुल्झाउन १ करोड डलर तिर्ने

काठमाडौं ।

वाल्ट डिज्नीले अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) को आरोप समाधान गर्न १ करोड डलर तिर्ने भएको छ। कमिसनका अनुसार डिज्नीले युट्युबमा बच्चामुखी भिडियो हेर्ने बालबालिकाबाट आमाबाबुलाई जानकारी नगराई वा सहमति नलिई व्यक्तिगत डेटा संकलन गर्न गैरकानुनी अनुमति दिएको आरोप लागेको हो।

यो सम्झौताको खबर पहिलो पटक एक्जिअसले सार्वजनिक गरेको थियो, जसलाई पछि डिज्नीका प्रवक्ताले समेत पुष्टि गरेका थिए।

गलत लेबलिङका कारण डिज्नीले यूट्युबमार्फत १३ वर्षभन्दा कम उमेरका बालबालिकाबाट व्यक्तिगत डाटा संकलन गरेर लक्षित विज्ञापनमा प्रयोग गरेको अमेरिकी उजुरीमा भनिएको छ। उजुरीमा डिज्नीले अमेरिकाको बालबालिकाको अनलाइन गोपनीयता संरक्षण नियम उल्लङ्घन गरेको आरोप लगाइएको छ।

सो नियमअनुसार १३ वर्षमुनिका बालबालिकामुखी वेबसाइट, एप तथा अन्य अनलाइन सेवाले कुन व्यक्तिगत जानकारी संकलन गर्छ भन्नेबारे अभिभावकलाई जानकारी दिनुपर्ने र त्यस्तो जानकारी संकलन गर्नु अघि प्रमाणित अभिभावकीय सहमति लिनुपर्ने रोयटर्सले जनाएको छ।

मंगलबारको अदालत फाइलिङअनुसार प्रस्तावित आदेशले डिज्नीलाई “श्रोताको वर्गीकरण कार्यक्रम लागू गर्न” निर्देश गरेको छ, जसले भिडियोहरू आवश्यकताअनुसार “बच्चाहरूका लागि” भनेर स्पष्ट गर्नुपर्नेछ।

“यो सम्झौता डिज्नीले आफ्नै स्वामित्व र सञ्चालनमा रहेका डिजिटल प्लेटफर्महरूलाई समावेश गर्दैन, यो केवल युट्युबको प्लेटफर्ममा हाम्रा केही सामग्रीको वितरणसम्म सीमित छ,” डिज्नीका प्रवक्ताले बताएका छन्।

उनले थपे, “बालबालिकाको गोपनीयता सम्बन्धी कानुनको पालना गर्ने उच्चतम मापदण्डलाई आत्मसात गर्ने लामो परम्परा डिज्नीमा छ। यस क्षेत्रमा अग्रणी रहिरहन आवश्यक उपकरणमा लगानी गर्ने हाम्रो प्रतिबद्धता कायम छ।”

Sajilo Visa

प्रकाशित: १९ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार