अनलाइन कारोबारमा ठगीको जोखिम बढ्दै: बैंक र ग्राहकले के गर्ने?
काठमाडौं ।
हिजो आज अनलाइन भुक्तानी सबै क्षेत्रमा प्रयोग हुन थालेको छ। बजारमा चहलपहल बढ्दा मोबाइल वालेट र अनलाइन भुक्तानीको प्रयोग पनि बढ्छ। तर यही चहलपहलमा ठग र साइबर अपराधी पनि सक्रिय हुने गरेका छन्। यसै सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले हालै साइबर सेक्युरिटी एडभाइजरी २०२६ (एनपीसर्ट/२०२६-२०२७) जारी गर्दै बैंक, भुक्तानी सेवा प्रदायक र सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
एडभाइजरीअनुसार चाडपर्वमा वित्तीय प्रणाली र व्यक्तिगत खातालाई निशाना बनाएर फिसिङ, र्यान्समवेयर र डीडीओएस (सेवा अवरुद्ध पार्ने आक्रमण) जस्ता हमला हुने प्रबल सम्भावना छ।
बैंक तथा वित्तीय संस्थाले अपनाउनुपर्ने ५ उपाय
जोखिम घटाउन एनपीसर्टले बैंक, वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र डिजिटल वित्तीय एप सेवा प्रदायकलाई देहायका उपाय अपनाउन सुझाएको छ:
- २४ घण्टा निगरानी: शंकास्पद गतिविधि तुरुन्तै पहिचान गर्न सेक्युरिटी अपरेसन सेन्टर चौबीसै घण्टा सक्रिय राख्ने।
- फिसिङ फिल्टरिङ: छुट, अफर वा उपहारका नाममा आउने नक्कली इमेल र सन्देश संस्थाको प्रणालीभित्र पस्न नदिन कडा फिल्टर लगाउने।
- समयमै अपडेट: सर्भर, भीपीएन र मोबाइल बैंकिङ एपमा सुरक्षा प्याच र रनटाइम एप्लिकेशन सेल्फ-प्रोटेक्शन प्रविधि जडान गरी अद्यावधिक राख्ने।
- डीडीओएस सुरक्षा र अफलाइन ब्याकअप: इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी एन्टि-डीडीओएस प्रणाली सक्रिय गर्ने, र मुख्य डेटाको सुरक्षित अफलाइन ब्याकअप राख्ने।
- ठगी अनुगमन: असामान्य वा ठूलो रकमको कारोबार स्वचालित रूपमा ट्र्याक गर्ने र शंका लागे तुरुन्तै खाता रोक्ने वा कारबाही गर्ने।
आम उपभोक्ताका लागि ३ सावधानी
सर्वसाधारणले चाडपर्वमा वित्तीय ठगीबाट बच्न यी कुरा ख्याल गर्नुपर्ने एडभाइजरीमा उल्लेख छ:
- झुटा अफर र चिट्ठाबाट सावधान: सामाजिक सञ्जाल, एसएमएस वा ह्वाट्सएपमा आउने “क्यासब्याक”, “उपहार” वा “चिट्ठा परेको” भन्ने आकर्षक लिङ्कमा क्लिक नगर्ने।
- ओटीपी, पिन र पासवर्ड गोप्य राख्ने: कुनै पनि बैंक वा डिजिटल वालेट (इसेवा, खल्ती आदि) ले फोन वा म्यासेजमार्फत ओटीपी, पिन वा पासवर्ड माग्दैन। यी विवरण कसैलाई नदिने।
- सार्वजनिक वाई-फाईमा बैंकिङ नगर्ने: बसपार्क, क्याफे वा अन्य सार्वजनिक स्थानमा खुला वाई-फाई प्रयोग गरेर मोबाइल बैंकिङ वा अनलाइन भुक्तानी नगर्ने।
ठगी परेमा के गर्ने?
कुनै शंकास्पद अनलाइन गतिविधि, फिसिङ सन्देश वा बैंकिङ ठगीको शिकार भएमा तुरुन्तै सम्बन्धित बैंक वा वित्तीय संस्थामा सम्पर्क गरी खाता ब्लक गराउनुपर्छ। साथै, घटनाको विवरण नेपाल प्रहरीको साइबर ब्यूरोमा दर्ता गराउन एडभाइजरीमार्फत आग्रह गरिएको छ।