Honor

सिनेमा क्यामरा निर्माता एरिसँग अनरको सहकार्य, म्याजिक ९ प्रो म्याक्स सार्वजनिक

सिनेमा क्यामरा निर्माता एरिसँग अनरको सहकार्य, म्याजिक ९ प्रो म्याक्स सार्वजनिक
Global IME Bank

अनरको नयाँ स्मार्टफोन सार्वजनिक हुँदा त्यसले हलिउडसँग आफ्नो सम्बन्ध देखाउने प्रयास गर्नु सामान्यजस्तै बनेको छ। नयाँ म्याजिक ९ प्रो म्याक्स सार्वजनिक गर्दै चिनियाँ कम्पनी अनरले फेरि एकपटक मोबाइल सिनेमाटोग्राफीको परिभाषा बदल्ने दाबी गरेको छ।

एरिसँगको सहकार्यबाट लाभ लिने यो अनरको पहिलो वास्तविक फ्ल्यागसिप फोन हो। यसअघि रोबोट फोनले मात्रै यस्तो सहकार्यको लाभ पाएको थियो। जर्मनीको एरि कम्पनीले एलेक्सा सिनेमा क्यामेरा निर्माण गर्छ। यस क्यामेराबाट छायाङ्कन गरिएका कम्तीमा छवटा चलचित्रले छायाङ्कन विधातर्फ एकेडेमी अवार्ड जितेका छन्। त्यसैले तपाईंले खिचेको इन्स्टाग्राम रिल्सले कम्तीमा अवार्डको मनोनयनमा स्थान पाएन भने त्यसको दोष क्यामेराको हार्डवेयरलाई दिनुपर्ने छैन।

म्याजिक ९ प्रो म्याक्स अनरको पहिलो फ्ल्यागसिप फोन हो, जसमा कम्पनीले यसअघि कम मूल्यका एन सिरिजका मोडलमा प्रयोग गरेको नयाँ औद्योगिक डिजाइन अपनाएको छ। यसमा नयाँ क्यामेरा प्लेटो र फ्रेम वरिपरि फरक रङको कन्ट्रास्टसहितको पछाडिको प्यानल राखिएको छ।

इन्ग्याजेटका अनुसार त्यस्तै ‘प्रो म्याक्स’ नाम पाउने यो अनरको पहिलो फ्ल्यागसिप फोन हो। मोबाइल उद्योगका अन्य कम्पनीले यो नाम प्रयोग गरेको खासै देखिएको छैन। तर यसको नाम यति आकर्षक छ कि अन्य कम्पनीले पनि यसलाई पछ्याउन सक्छन्।

फोनभित्र स्न्यापड्रागन ८ एलिट एक्स्ट्रिम जेन ६ सिस्टम अन चिप राखिएको छ। यसमा १२ जीबी वा १६ जीबी र्‍याम तथा २५६ जीबी, ५१२ जीबी वा १ टीबी स्टोरेजको विकल्प उपलब्ध छ।

फोनको अगाडिपट्टि ६.८ इन्चको २,८६८ × १,३२० पिक्सेल रिजोल्युसनयुक्त एलटीपीओ ओएलईडी डिस्प्ले छ। यसले १ देखि १२० हर्जसम्मको रिफ्रेस रेट र अधिकतम १० हजार निट्स ब्राइटनेस प्रदान गर्छ। यसमा ८,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसले १०० वाटसम्मको तारयुक्त र ८० वाटसम्मको वायरलेस चार्जिङ समर्थन गर्छ।

अन्य सुविधामा वाइफाइ ७, दुईवटा सिम कार्ड र एउटा ई-सिम प्रयोग गर्न मिल्ने व्यवस्था तथा ५५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छन्।

तर यी सबै विशेषता फोनको मुख्य आकर्षण अर्थात् पछाडिपट्टि रहेको एरिफ्लेक्सबाट प्रेरित तीनवटा क्यामेराको तुलनामा सहायक पक्ष मात्रै हुन्। यसमा एफ/१.५७ अपर्चर र अप्टिकल इमेज स्ट्याबिलाइजेसन (ओआईएस) सहितको २०० मेगापिक्सेल मुख्य क्यामेरा, एफ/२.६ अपर्चर र ओआईएससहितको २०० मेगापिक्सेल टेलिफोटो क्यामेरा तथा एफ/२.० अपर्चरको ५० मेगापिक्सेल अल्ट्रा-वाइड क्यामेरा छन्।

अनरका अनुसार मुख्य क्यामेरामा ‘गिम्बल’ स्तरको अप्टिकल स्ट्याबिलाइजेसन सुविधा छ। यसले फोन जुनसुकै अवस्थामा राखेर खिच्दा पनि भिडियो र तस्बिरलाई सकेसम्म स्थिर राख्न सहयोग गर्छ।

यी सबै मेगापिक्सेल क्षमताको उपयोग गर्न अनरले पहिलोपटक आफ्नै इमेजिङ प्रोसेसर एच१ सार्वजनिक गरेको छ। साथै, कम्पनीले एरिसँगको सहकार्यबाट प्राप्त प्रविधिगत अनुभव पनि प्रयोग गरेको छ।

अनरका अनुसार म्याजिक ९ प्रो म्याक्समा सुरुदेखि अन्त्यसम्म सिनेमाटिक कार्यप्रवाह अपनाइएको छ। यसबाट एरिकै लग फर्म्याट लगसी३ मा उच्च गुणस्तरको भिडियो खिच्न सकिन्छ। यो एरिले विकास गरेको लग फर्म्याट हो। भिडियोमा प्रयोग गर्न एरिले तयार पारेका विभिन्न फिल्टर र कलर प्रोफाइल पनि उपलब्ध छन्।

भिडियोमा प्रयोग गर्न ८७ वटासम्म एरि लुक्समध्ये छनोट गर्न सकिन्छ। यसमा २.३९:१ जस्ता सिनेमाका आस्पेक्ट रेसियोमा समेत भिडियो खिच्न सकिने सुविधा छ।

यस क्षेत्रमा आफ्नो क्षमता थप विस्तार गर्न अनरले स्मलरिगसँगको सहकार्यमा विभिन्न एसेसरिज पनि सार्वजनिक गर्दैछ। फोनमा स्मलरिग क्यामेरा केज जडान गरेपछि अनर ब्रान्डका टेलिकन्भर्टर जी२०० वा टेलिकन्भर्टर जी५०० जोड्न सकिन्छ। यी उपकरणले फोनको फोकल लेन्थ क्रमशः २०० मिलिमिटर वा ५०० मिलिमिटरसम्म बढाउँछन्। यसबाट कृत्रिम बुद्धिमतामा आधारित इमेजिङ प्रविधिको सहायताले पनि खिच्न कठिन हुने टाढाका दृश्य खिच्न सकिन्छ।

अनर म्याजिक ९ प्रो म्याक्स मलेसियामा पहिलोपटक सार्वजनिक भएको छ। १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको मोडलको मूल्य ५ हजार ९९९ मलेसियन रिंगिट (करिब १ हजार ४५५ अमेरिकी डलर) तोकिएको छ।

यो फोन अर्को महिना मध्यपूर्वका बजारमा उपलब्ध हुनेछ भने जनवरी महिनामा पहिलोपटक पश्चिमी बजारमा सार्वजनिक गरिनेछ।

Sajilo Visa
easy care