इन्डोनेसियाको प्रतिस्पर्धा नियामकद्वारा गुगलमाथि १ करोड २४ लाख डलर जरिबाना

Technology Khabar १० माघ २०८१, बिहीबार

काठमाडौं ।

इन्डोनेसियाको प्रतिस्पर्धा नियामक निकायले मंगलबार गुगललाई अन्यायपूर्ण व्यापारिक अभ्यासका लागि १२.४ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको छ। यो जरिवाना गुगलको गुगल प्ले स्टोरमा भुक्तानी प्रणाली सेवासँग सम्बन्धित छ।

एजेन्सीले २०२२ मा अल्फाबेट इंकको गुगल विरुद्ध अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानमा गुगलले आफ्नो प्रभुत्वको दुरुपयोग गर्दै इन्डोनेसियाली एप डेभलपरहरूलाई गुगल प्ले बिलिङ प्रयोग गर्न बाध्य पारेको आरोप लागेको थियो।

गुगलको यो प्रणालीले अन्य भुक्तानी प्रणालीभन्दा बढी शुल्क लिने र प्रयोग नगरे एपलाई प्लेस्टोरबाट हटाउने धम्की दिएको दावी गरिएको थियो।

रोयटर्सका अनुसार प्यानलले सुनुवाइका उक्त प्रणालीले प्रयोगकर्ताहरूको संख्यामा कमी ल्याएका कारण डेभलपरहरूको आम्दानी घटाएको बताएको छ। साथै, गुगलले इन्डोनेसियाको एकाधिकार विरोधी कानून तोडेको पाइएको छ। प्यानलका अनुसार गुगलले गुगल प्ले बिलिङ मार्फत ३० प्रतिशतसम्मको शुल्क लगाएको थियो।

२ करोड ८० लाख जनसंख्या भएको इन्डोनेसियामा गुगलको डिजिटल अर्थतन्त्र तीव्र रूपमा बढ्दै गएको छ भने गुगलले ९३ प्रतिशत बजार हिस्सा नियन्त्रण गरेको पाइएको छ।

कम्पनीले यो निर्णयविरुद्ध अपिल गर्ने गुगलका प्रवक्ताले बुधबार बताएका छन्। “हाम्रो हालको अभ्यासले इन्डोनेसियाको एप इकोसिस्टमलाई स्वस्थ र प्रतिस्पर्धात्मक बनाउँछ,” प्रवक्ताले भनेका छन्। साथै, कम्पनी इन्डोनेसियाको कानून पालना गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ।

गुगलले यसअघि डेभलपरहरूलाई वैकल्पिक बिलिङ विकल्प प्रदान गर्ने प्रणाली लागू गरेको बताएको छ।

गुगललाई गत दशकमा युरोपियन युनियनले मूल्य तुलना सेवा, एण्ड्रोइड मोबाइल अपरेटिङ सिस्टम र विज्ञापन सेवासँग सम्बन्धित प्रतिस्पर्धा विरोधी अभ्यासका लागि ८ अर्ब युरो (८.३ बिलियन डलर) भन्दा बढी जरिवाना गरिसकेको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: १० माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया