गुगलको ‘एआई स्याटेलाइट’ले अन्तरिक्षबाट पृथ्वीमा पठायो पहिलो प्रतिक्रिया

  • Technology Khabar | १७ कार्तिक २०८३, मंगलवार
गुगलको ‘एआई स्याटेलाइट’ले अन्तरिक्षबाट पृथ्वीमा पठायो पहिलो प्रतिक्रिया
तस्बिर: टेलिग्राफ

काठमाडौं ।

गुगलले अन्तरिक्षमै डाटा सेन्टर स्थापना गर्ने आफ्नो योजनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।

यसै महिनाको सुरुवातमा स्पेसएक्सको फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिएको प्रयोगात्मक ‘सनक्याचर’ परियोजनाअन्तर्गतको स्याटेलाइटले काम गर्न र पृथ्वीमा रहेका ग्राउन्ड स्टेसनहरूसँग सञ्चार गर्न थालेको छ।

एआई स्याटेलाइटमा एआई प्रशोधनका लागि तयार पारिएका चारवटा टेन्सर प्रोसेसिङ युनिट (टीपीयू) जडान गरिएका छन्। पहिलो परीक्षणका क्रममा इन्जिनियरहरूले स्याटेलाइटमा राखिएको जेम्मा ४ मोडललाई अन्तरिक्षबारे छोटो कविता लेख्न निर्देशन दिएका थिए।

टेलिग्राफका अनुसार गुगलले एआई स्याटेलाइट सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ। अबको परीक्षणमा प्रोसेसरहरूले अन्तरिक्षको अत्यधिक तापक्रम र विकिरण सहन सक्ने क्षमताको परीक्षण गरिनेछ।

परीक्षणको नतिजा सकारात्मक आएमा कम्पनीले सन् २०२७ मा थप दुईवटा स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ। ती स्याटेलाइटमा बढी ऊर्जा क्षमता र लेजरमार्फत डेटा आदानप्रदान गर्ने प्रविधि जडान गरिनेछ।

परियोजनाको उद्देश्य अन्तरिक्षको कक्षमा डेटा सेन्टरका रूपमा काम गर्ने स्याटेलाइटहरूको सञ्जाल निर्माण गर्नु हो। त्यस्ता स्याटेलाइटले कृत्रिम बुद्धिमत्तासम्बन्धी ठूला कार्यहरू अन्तरिक्षमै प्रशोधन गर्नेछन्। गुगलले सन् २०३० को दशकभित्र यो प्रविधिलाई आर्थिक रूपमा व्यावहारिक बनाउने लक्ष्य राखेको छ।

प्रकाशित: १७ कार्तिक २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार