काठमाडौं ।
गुगलको जेमिनीले गत अप्रिलमा डक्स, सिट्सदेखि पीडीएफ र मार्कडाउनसम्मका फाइल तयार गर्न सक्ने सुविधा ल्याएको थियो। तर, अहिलेसम्म जेमिनीले तयार पारेको फाइलमा कुनै परिवर्तन गर्नुपरेमा पहिले त्यसलाई डाउनलोड वा एक्सपोर्ट गर्नुपर्ने हुन्थ्यो।
अब गुगलले जेमिनी एपभित्रै कागजात, पीडीएफ, प्रस्तुति, स्प्रेडसिट, कोडलगायतका फाइल हेर्न र सम्पादन गर्न सकिने सुविधा ल्याएको छ।
जीएसएमएरिनाका अनुसार फाइललाई पूर्ण स्क्रिनमा विस्तार गरेर हेर्न सकिन्छ र त्यहीँबाट आवश्यक सम्पादन गर्न सकिन्छ। प्रयोगकर्ताले कुनै पाठ चयन गरेर त्यसबारे प्रश्न सोध्न, पाठ वा दृश्य सामग्री परिमार्जन गर्न तथा थप प्रश्नहरू सोध्न पनि जेमिनाईको प्रयोग गर्न सक्छन्।
यद्यपि, यसमा एउटा सीमा छ। पीडीएफ फाइल हेर्ने र सम्पादन गर्ने सुविधा वेब तथा मोबाइल दुवैमा उपलब्ध छ। तर गुगल डक्स, गुगल सिट्स, स्लाइड प्रस्तुति, मार्कडाउन फाइल, टीएक्सटी फाइल र कोडलगायतका अन्य ढाँचामा रहेका फाइल सम्पादन गर्ने सुविधा भने हाललाई वेबमा मात्रै उपलब्ध छ।
यो नयाँ सुविधा आजदेखि जेमिनीले समर्थन गर्ने सबै भाषामा र सबै प्रयोगकर्ताका लागि उपलब्ध भएको गुगलले जनाएको छ।
प्रकाशित: १५ कार्तिक २०८३, आईतवार