टेस्लाले दोस्रो पुस्ताको रोडस्टर अक्टोबर १ मा सार्वजनिक गर्ने

  • Technology Khabar | २८ भाद्र २०८३, आईतवार
टेस्लाले दोस्रो पुस्ताको रोडस्टर अक्टोबर १ मा सार्वजनिक गर्ने
फोटो सौजन्यः एरिनाईभी

काठमाडौं ।

लामो समयदेखि प्रतीक्षा गरिएको टेस्लाको दोस्रो पुस्ताको रोडस्टर अन्ततः सार्वजनिक हुन तयार भएको देखिएको छ।

शनिबार एक्समा गरिएको पोस्टमा विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले ‘गो फर लञ्च’ लेख्दै ‘१०.०१’ मिति देखाइएको ग्राफिक सार्वजनिक गरेको छ। यसबाट नयाँ रोडस्टर अक्टोबर १ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

ग्राफिकमा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको अर्को प्रमुख कम्पनी स्पेसएक्सले विकास गरेको भनिएको ‘कोल्ड ग्यास थ्रस्टर’को संकेत पनि देखिन्छ। यी वैकल्पिक थ्रस्टरले रोडस्टरलाई कुनै न कुनै रूपमा उडाउन सक्ने बताइएको छ।

टेस्लाको दोस्रो पुस्ताको स्पोर्ट्स कार पहिलोपटक नोभेम्बर २०१७ मा घोषणा गरिएको थियो। त्यसयता यसको उत्पादन तथा सार्वजनिक गर्ने समय पटक–पटक पछि सारिएको छ। गत वर्ष यो कार मस्क र ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानबीच सामाजिक सञ्जालमा भएको विवादको विषयसमेत बनेको थियो।

५० हजार डलर बुकिङ शुल्क तिरेपछि अल्टम्यानले ‘७.५ वर्ष पर्खन लामो समय भएको’ बताएका थिए भने मस्कले अल्टम्यानले रकम फिर्ता पाइसकेको बताएका थिए।

द इन्फर्मेसनले हालै प्रकाशित गरेको रिपोर्टअनुसार सन् २०१७ मा देखाइएको कारको डिजाइन पूर्ण रूपमा त्यागेर नयाँ डिजाइन तयार गरिएको छ। उक्त नयाँ डिजाइन चाँडै सार्वजनिक गरिने रिपोर्टमा उल्लेख छ।

मस्कले यसअघि नै रोडस्टर सार्वजनिक गरेपछि पनि यसको वास्तविक उत्पादन सुरु हुन थप १२ देखि १८ महिना लाग्ने बताएका थिए।

प्रकाशित: २८ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...