काठमाडौं ।
जापानी कम्पनी सोनीले स्मार्टफोनको मुख्य क्यामेराका लागि ५० मेगापिक्सेल क्षमताको नयाँ एलवाईटीआईए ७२० इमेज सेन्सर सार्वजनिक गरेको छ।
नयाँ सेन्सरले कम प्रकाश भएको अवस्थामा पनि राम्रो गुणस्तरका तस्बिर खिच्न सक्ने कम्पनीको दाबी छ। यसले ६० फ्रेम प्रतिसेकेन्डमा एचडीआरसहितको ४के भिडियो रेकर्डिङलाई समेत समर्थन गर्छ।
स्ट्याक्ड सीएमओएस प्रविधिमा आधारित यो सेन्सरको आकार १।१.५६ इन्च र प्रत्येक पिक्सेलको आकार १.० माइक्रोमिटर छ। यसमा सोनीको अल्ट्रा हाई कन्भर्जन गेन प्रविधि प्रयोग गरिएको छ। यो प्रविधिले अँध्यारोमा खिचिएका फोटोमा देखिने दृश्यगत न्वाइज घटाएर फोटोको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ।
सोनीका अनुसार यस प्रविधिले अघिल्लो एलवाईटीआईए ७०० सेन्सरको तुलनामा अनियमित न्वाइज करिब ५० प्रतिशतले घटाउन सक्छ। यसले कम प्रकाशमा पनि स्पष्ट तस्बिर खिच्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
नयाँ सेन्सरको अर्को महत्त्वपूर्ण विशेषता हाइब्रिड फ्रेम–एचडीआर प्रविधि हो। यसले १०० डेसिबलको डाइनामिक रेन्ज प्रदान गर्छ।
टेलिग्राफका अनुसार, यो प्रविधिले फरक–फरक एक्सपोजरमा खिचिएका फोटोका विवरणलाई संयोजन गर्छ। यसबाट फोटोको अँध्यारो र अत्यधिक उज्यालो दुवै भागका विवरण सुरक्षित राख्न मद्दत पुग्छ।
विशेषगरी उज्यालो र अँध्यारोबीच धेरै भिन्नता भएका दृश्यमा फोटो अझ प्राकृतिक देखिने अपेक्षा गरिएको छ। यस्ता दृश्यमा सामान्यतया क्यामेराले गहिरो छायाँ वा अत्यधिक उज्यालो भागका विवरण गुमाउने समस्या हुन्छ।
एलवाईटीआईए ७२० ले ६० फ्रेम प्रतिसेकेन्डमा ४के एचडीआर भिडियो रेकर्डिङका साथै फुल पिक्सेल अटोफोकसलाई पनि सहयाेग गर्छ। सोनीका अनुसार सिग्नल रूपान्तरण सर्किटको अनुकूलनले विद्युत् खपत सीमित राख्दै यी सुविधा उपलब्ध गराउन सम्भव भएको हो।
यो सेन्सरले ५० मेगापिक्सेल रिजोल्युसनमा अधिकतम ३० फ्रेम प्रतिसेकेन्डको गतिमा फोटो खिच्न सक्छ। १२.५ मेगापिक्सेल रिजोल्युसनमा यसको गति ९० फ्रेम प्रतिसेकेन्डसम्म पुग्न सक्छ।
४के भिडियो रेकर्डिङतर्फ एचडीआरबिना अधिकतम १२० फ्रेम प्रतिसेकेन्ड र एचडीआरसहित ६० फ्रेम प्रतिसेकेन्डसम्म रेकर्ड गर्न सकिने कम्पनीले जनाएको छ।
सोनीले यो सेन्सरको ठूलो परिमाणमा उत्पादनका लागि आवश्यक आपूर्ति सन् २०२६ नोभेम्बरको सुरुवातदेखि सुरु हुने अपेक्षा गरेको छ। नयाँ सेन्सर कुन कुन स्मार्टफोनमा प्रयोग हुनेछ भन्नेबारे कम्पनीले अहिलेसम्म जानकारी सार्वजनिक गरेको छैन।
प्रकाशित: १३ कार्तिक २०८३, शुक्रबार