काठमाडौं ।
बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध बनेको छ।
नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले साँफे-मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि सेवा अवरुद्ध भएको बताए। उच्च गतिको फाइबर इन्टरनेटको तार काटेपछि जिल्लामा इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध भएको उनले बताए।
अहिले मर्मतका लागि प्राविधिक टोली खटिएको छ। यस्तै, अवरुद्ध लाइन मर्मतमा केही समय लाग्ने भएपछि सदरमुकाम मार्तडीमा खप्तड छेडेदहको आटिचौरबाट लाइन जडान गरेपछि आंशिक रुपमा सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख सिंहले जानकारी दिए।
दिनभर सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चार सेवासँगै विभिन्न कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह तथा सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका थिए । रासस
प्रकाशित: १२ कार्तिक २०८३, बिहीबार