काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।
प्राधिकरणले एनसेलको सेवाको गुणस्तरसम्बन्धी पुरानो प्रकरण माथि विश्लेषण गर्दै यो जरिवाना तोकेको हो। नियामकले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान भए नभएको जाँच गर्दै आफ्नो क्षेत्राधिकारमा पर्ने विषयमा आधारित भएर सेवा प्रदायकमाथि दण्ड सजायको व्यवस्था गर्न सक्छ।
‘गत वर्ष हुनुपर्छ ३ घण्टाभन्दा बढी समय एनसेलको इन्टरनेट रिचार्ज तथा मोबाइल एप अवरुद्ध हुने समस्या भएको थियो,” यस सम्बन्धमा प्रस्ट पार्दै प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, “प्राधिकरणबाट निर्धारित सेवाको गुणस्तरसँग सम्बन्धित विनियमावलीमा रहेको नेटवर्क अपटाइम कम्प्लाई नगरेको हुनाले ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।”
यसका साथै क्षतिपूर्तिस्वरुप उक्त समयमा सेवा अवरुद्ध भएको अवधिभरीको भ्यालिडिटी सम्बद्ध ग्राहकहरुलाई थप गरिदिने निर्णयसहितको निर्देशन दिईएको प्रवक्ताले जानकारी दिए।
प्राधिकरणकाअनुसार यो निर्णय दशैंअगाडि नै भएको र एनसेललाई दशैं बिदापछि हालै पत्र पठाइएको हो।
एनसेलको सेवामा समस्या आएको त्यो पहिलो पटक भने थिएन। त्यसअघि २०८१ सालमा पनि दुई पटक साउन र मंसिरमा एनसेलको कल, एसएमएस र इन्टरनेट सेवामा समस्या तथा मोबाइल नेटवर्क क्रमश: १ घण्टा ४२ मिनेट तथा करिब ३ घण्टा बन्द भएको थियो।
२०८० वैशाख १ गतेदेखि लागू भएको दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली, २०७९ अनुसार कोर नेटवर्कको अपटाइम ९९.९९९ प्रतिशत, डाटा नेटवर्कको अपटाइम ९९.९९९ प्रतिशत र रेडियो नेटवर्कको अपटाइम ९९.९ प्रतिशत हुनुपर्ने उल्लेख छ।
प्राधिकरणले यसअघि सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमलाई पनि इन्टरनेट प्याकेजसम्बन्धित विषयमा ५० हजार रुपैयाँ जरिवाना गरिसकेको छ।
त्यसअघि नियामक निकायले एकैपटक १४ ओटा इन्टरनेट सेवा प्रदायकहरुलाई समेत जरिवाना गरेको थियो।
प्रकाशित: १२ कार्तिक २०८३, बिहीबार