एप्पलले समयमै धेरै आईफोन डुओ बजारमा पठाउन गुणस्तर परीक्षणका मापदण्ड खुकुलो पारेको रिपोर्ट

  • Technology Khabar | १३ कार्तिक २०८३, शुक्रबार
एप्पलले समयमै धेरै आईफोन डुओ बजारमा पठाउन गुणस्तर परीक्षणका मापदण्ड खुकुलो पारेको रिपोर्ट
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

आईफोन डुओ र विशेषगरी यसको कमजोर मानिएको हिन्ज प्रणालीलाई लिएर विवाद हुँदै आएको छ। फोनको भित्री डिस्प्लेमा क्षति पुगेका घटनाबारे धेरै रिपोर्ट सार्वजनिक भएका छन्।

एप्पलले पनि यो समस्या स्वीकार गर्दै थोरै संख्यामा आईफोन डुओमा मात्र यस्तो समस्या देखिएको जनाएको छ। प्रभावित प्रयोगकर्तालाई फोन साट्नका लागि एप्पलसँग सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

तर, चिनियाँ सञ्चारमाध्यम जिमियान न्युजको एक रिपोर्टअनुसार बिदाको मौसमअघि खुद्रा विक्रेतामार्फत धेरै आईफोन डुओ बजारमा पठाउन एप्पलले आफ्नो गुणस्तर निरीक्षणका मापदण्ड खुकुलो पारेको थियो।

जीएसएमएरिनाका अनुसार फक्सकनका एक कर्मचारीलाई उद्धृत गर्दै रिपोर्टमा यो जानकारी दिइएको छ। ती कर्मचारीको नाम सार्वजनिक गरिएको छैन।

उनका अनुसार आईफोन डुओको उत्पादन लाइनमा यसअघि नै केही पार्टपुर्जाको समूह परिवर्तन गरिएको छ। तर, गुणस्तर नियन्त्रणका मापदण्ड भने परिवर्तन नगरिएको बताइएको छ।

एप्पलले अझै पनि बिदाको मौसमअघि सकेसम्म धेरै आईफोन डुओ बजारमा पठाउन प्राथमिकता दिइरहेको बताइएको छ। कम्पनीले यस वर्षको अन्त्यसम्म ७५ लाख थान फोन बजारमा पठाउने लक्ष्य राखेको छ।

यसैबीच यूट्युब सामग्री निर्माता क्युरियसहागीले आईफोन डुओको भित्री हिन्ज प्रणालीमा देखिएको गम्भीर खराबी देखाएका छन्। डिस्प्लेमा क्षति पुग्ने घटनाको मुख्य कारण यही खराबी हुन सक्ने अनुमान गरिएको छ।

डिस्प्लेमा क्षति पुगेका केही प्रयोगकर्ताले फोन खोल्दा वा चलाउँदा ‘चर्किएको आवाज’ सुनिएको बताएका थिए। यस्तो आवाज हिन्जको एउटा जोड्ने भाग र माथिल्लो सपोर्ट प्लेटबीच सम्पर्क हुँदा उत्पन्न भएको हुन सक्ने देखिएको छ।

यो भाग भित्री डिस्प्लेको मध्यभागको पछाडि अवस्थित छ। हिन्जका अन्य भागको तुलनामा यो भौतिक रूपमा पातलो देखिन्छ।

प्रकाशित: १३ कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार