काठमाडौं ।
बेलायती वित्तीय प्रविधि कम्पनी रिभोलुटले वैध सरकारी निकायको इमेल डोमेनबाट पठाइएका नक्कली अनुरोध प्राप्त भएपछि अनधिकृत तेस्रो पक्षलाई ग्राहकको संवेदनशील जानकारी उपलब्ध गराएको पुष्टि गरेको छ।
टेकक्रन्चले हेरेको प्रभावित ग्राहकलाई पठाइएको सूचनाअनुसार चुहिएको डेटामा ग्राहकको जन्ममिति, हुलाक तथा इमेल ठेगाना र फोन नम्बरलगायत पहिचान तथा सम्पर्कसम्बन्धी विवरण समावेश छन्।
राहदानी र ड्राइभिङ लाइसेन्सलगायत परिचयपत्रका प्रतिलिपि पनि चुहिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रमाणीकरणका क्रममा खिचिएका सेल्फी, खाताको विवरण र कारोबारको इतिहास पनि उक्त डेटामा समावेश भएको हुन सक्छ।
रिभोलुटका प्रवक्ताले टेकक्रन्चलाई सीमित संख्यामा ग्राहक प्रभावित भएको र ती ग्राहकलाई कम्पनीले प्रत्यक्ष रूपमा सम्पर्क गरेको बताए। यद्यपि रिभोलुटले प्रभावित व्यक्तिको यकिन संख्या खुलाएको छैन।
यो घटना कुनै निश्चित बजारमा मात्र सीमित थियो कि थिएन भन्ने प्रश्नको पनि कम्पनीले जवाफ दिएन। साथै, कुन सरकारी निकायसँग सम्बन्धित घटना हो भन्ने खुलाउन पनि अस्वीकार गरेको छ।
“रिभोलुटले हालै एक जटिल बाह्य नक्कली पहिचानसम्बन्धी ठगी पत्ता लगाएको छ, जसमा अनधिकृत तेस्रो पक्षले वैध सरकारी निकायको इमेल डोमेन प्रयोग गरी सूचनाका लागि नक्कली अनुरोध पठाएको थियो,” प्रवक्ताले भने।
रिभोलुटले उक्त अनधिकृत तेस्रो पक्षको ठगी पत्ता लागेपछि प्रयोग गरिएको इमेल ठेगाना बन्द गरेको र सम्बन्धित सरकारी निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा नियामकलाई जानकारी गराएको टेकक्रन्चलाई बताएको छ। कम्पनीका अनुसार रिभोलुटको प्रणाली र ग्राहकको रकम भने प्रभावित भएका छैनन्।
लन्डनमा मुख्यालय रहेको रिभोलुटका विश्वभर ८ करोडभन्दा बढी ग्राहक छन्। कम्पनीको वेबसाइटअनुसार उसले ३० भन्दा बढी देशमा बैंकका रूपमा सेवा सञ्चालन गरिरहेको छ। हालै रिभोलुटले भारत, मेक्सिको, फ्रान्स र यूएईलगायत बजारमा आफ्नो उपस्थिति विस्तार गरेको थियो।
टेकक्रञ्चका अनुसार यसै महिनाको सुरुवातमा अमेरिकी मुद्रा नियन्त्रक कार्यालयले रिभोलुटलाई अमेरिकामा राष्ट्रिय बैंक स्थापना गर्न सर्तसहित स्वीकृति दिएको थियो। कम्पनीले सन् २०२७ को पहिलो छ महिनामा त्यहाँ बैंक सञ्चालनमा ल्याउने अपेक्षा गरेको छ।
चर्चित क्रिप्टो सुरक्षा अनुसन्धानकर्ता ज्याकएक्सबीटीले शुक्रबार राति प्रभावित ग्राहकलाई रिभोलुटले पठाएको इमेलबारे पोस्ट गरेका थिए। उक्त घटना उच्च सम्पत्ति भएका प्रयोगकर्तालाई लक्षित गरिएको देखिएको अनुसन्धानकर्ताले बताएका छन्।
रिभोलुटले सम्भावित सार्वजनिक शेयर निष्कासनबारे विचार गरिरहेको खबर सार्वजनिक भइरहेका बेला यो घटना भएको हो। सम्भावित आईपीओमा कम्पनीको मूल्यांकन २०० अर्ब डलरसम्म पुग्न सक्ने बताइएको छ।
गत नोभेम्बरमा भएको निजी लगानीपछि कम्पनीको मूल्यांकन ७५ अर्ब डलर पुगेको थियो। रिभोलुटले पछिल्ला महिनामा फ्रान्स र बेलायतमा बैंकिङ लाइसेन्स प्राप्त गर्दै यूरोप तथा विश्वभर आफ्नो बैंकिङ सेवा विस्तार गरिरहेको छ।
प्रकाशित: २८ भाद्र २०८३, आईतवार