
काठमाडौं ।
नेपालमा आर्थिक वर्ष २०७८/७९ को पहिलो ४ महिनामा ३ करोड १९ लाख १३ हजार रुपैयाँको मोबाइल चार्जर आयात भएको आँकडा छ।
मोबाइल फोनको प्रयोग दिनदिनै बढ्दै गइरहेको र सामान्यतया केही ब्रान्डलाई छोडेर अधिकांश सबै मोाइल सेटसँग चार्जर आउने भएकाले यो अवधिमा नेपालमा भित्रिएका मोबाइल फोनको सङ्ख्या आकलनमा पनि यो आँकडाले मद्दत गर्ने देखिन्छ।
भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को शुरुवाती चार महिनाको प्रतिवेदन अनुसार २०७८ श्रावणदेखि कार्तिक मसान्तसम्ममा नेपालमा ३ लाख ३७ हजार ५८० ओटा मोबाइल चार्जर आयात भएका छन्।
यीमध्ये सबैभन्दा बढी चीनबाट २ करोड २८ लाख ३ हजार रुपैयाँ बराबरको २ लाख ६९ हजार ८८० थान चार्जर आएका छन्।
यसपछि भारतबाट ६ लाख ९२ हजार रुपैयाँ बराबरको ६५ हजार २० थान तथा भियतनामबाट २८ लाख ८७ हजार रुपैयाँ बराबरको २ हजार ४५५ थान चार्जर भित्रिएको पाइएको छ।
यस्तै यूएईबाट ३१ हजार बराबरको २११ थान, अमेरिकाबाट ४८ हजार रुपैयाँ बराबरको १४ थान, अस्ट्रेलियाबाट १९ हजार बराबरको ६ थान तथा न्यूजिल्यान्डबाट १२ हजार बराबरको १ थान मोबाइल चार्जर नेपाल भित्रिएको छ।
यो सूचीमा पोर्चुगलबाट ७ हजार बराबरको १ थान तथा बेलायतबाट ५ हजार बराबरको ५ थान, जापानबाट ४ हजार बराबरको २, कोरियाबाट २ हजार बराबरको ३ थान, स्पेनबाट हजार बराबरको १ थान मोबाइल चार्जर आयात भएको देखिएको छ।
थाइल्यान्डबाट आएको १ थान चार्जरको भने रकम उल्लेख गरिएको छैन।
गत वर्ष कोरोना भाइरस महामारीको संक्रमणको डरले भएको लकडाउनपछि मानिसहरुले घरबाटै पढ्ने र कामसमेत गर्ने बानी बसालेका छन्।
यसका लागि मोबाइल, ल्यापटप, पर्सनल कम्प्युटर, ट्याब्लेट लगायतका डिभाइसको माग र प्रयोग निकै बढेको छ।
यसै हिसाबले मोबाइल डिभाइसको आयातमा बढोत्तरी भएसँगै मोबाइल चार्जर पनि लगभग उत्तिकै हाराहारीमा आयात भएको हुन सक्छ।
यसबाहेक मोबाइल चार्जर मात्रै फुटकर रुपमा बिक्री गर्नेगरी पनि आयात गरिएको हुन सक्छ। प्रतिवेदनमा मोबाइल सेटसँगै वा खुला भनेर नछुट्याए पनि हामीले खुला रुपमा किन्न सकिनेगरी उक्त परिमाणमा मोबाइल चार्जर आयात भएको आकलन गर्न सकिन्छ।
एप्पलले आफ्ना पछिल्ला सेटहरुमा चार्जर राख्न छोडेको छ भने त्यसका लागि आवश्यक चार्जर आधिकारिक विक्रेता वा खुद्रा व्यापारीसँग पनि किन्न सकिन्छ। यसैगरी अन्य ब्रान्डका मोबाइलहरुका साथै बार/फिचर फोनका लागि पनि अतिरिक्त चार्जरहरु आवश्यक हुने हुनाले ती आवश्यकता पूरा गर्नका लागि पनि आधिकारिक विक्रेता तथा खुद्रा व्यापारीहरुले विभिन्न खालका चार्जरहरु आयात गर्ने गर्दछन्।
प्रकाशित: ९ पुष २०७८, शुक्रबार