काठमाडौं ।
नेपाल राष्ट्र बैंकले दसैँ, तिहार र छठ पर्वका अवसरमा डिजिटल वालेटमा दिनमा रकम जम्मा गर्न पाउने सीमा अस्थायी रूपमा बढाएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गर्दै प्राकृतिक व्यक्तिको वालेटमा दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको हो।
यसअघि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनअनुसार प्राकृतिक व्यक्तिको वालेटमा दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो।
राष्ट्र बैंकका अनुसार दसैँको अवसरमा २०८३ असोज ३१ देखि कात्तिक ८ गतेसम्म र तिहार तथा छठ पर्वको अवसरमा कात्तिक २१ देखि २९ गतेसम्म दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ。।
राष्ट्र बैंकले उक्त अवधिमा भएको कारोबारको सङ्ख्या र कारोबारको कुल रकमबारे विभागलाई जानकारी गराउनसमेत भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ।
प्रकाशित: ३० आश्विन २०८३, शुक्रबार