चीनद्वारा अन्तरिक्षमा एआई कम्प्युटिङ क्षमता बढाउन १० उपग्रह प्रक्षेपण

  • Technology Khabar | ३० आश्विन २०८३, शुक्रबार
चीनद्वारा अन्तरिक्षमा एआई कम्प्युटिङ क्षमता बढाउन १० उपग्रह प्रक्षेपण

काठमाडौं ।

चीनले अन्तरिक्षमा कृत्रिम बुद्धिमत्ता (एआई) कम्प्युटिङ क्षमता विस्तार गर्ने उद्देश्यले बुधबार झुचे–२ई वाई४ रकेटमार्फत १० वटा उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। तीमध्ये आठवटा उपग्रह कक्षामा एआई कम्प्युटिङ क्षमता विकास गर्न डिजाइन गरिएका हुन्।

सिन्ह्वाका अनुसार स्थानीय समयअनुसार बुधबार बेलुका ७ः४० बजे उत्तरपश्चिम स्थित डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट एरियाबाट रकेट प्रक्षेपण गरिएको थियो।

आठवटा उपग्रह चिनियाँ व्यावसायिक अन्तरिक्ष कम्पनी एडीएस्पेसले विकास गरिरहेको स्टार कम्प्युट परियोजनाको दोस्रो समूहअन्तर्गतका हुन्।
सूर्यको प्रकाश प्राप्त हुने कक्षमा सञ्चालन गर्ने गरी डिजाइन गरिएका यी उपग्रहमा उच्च कार्यक्षमताका कम्प्युटर प्रणाली, लेजर सञ्चार उपकरण तथा कम प्रकाशमा काम गर्न सक्ने क्यामेरा जडान गरिएका छन्।

यी उपग्रहले १० हजार वाट क्षमताका तरल कुलिङ प्रणाली, विस्तार गर्न सकिने ठूला कुलिङ इस्टक्चर, अन्तरिक्षमा आधारित लेजर सञ्चार नेटवर्क तथा अन्तरिक्ष कक्षमै आधारभूत कृत्रिम बुद्धिमत्ता मोडेललाई प्रशिक्षण दिने प्रविधिजस्ता उन्नत प्रणालीको परीक्षण गर्नेछन्।

एडीएस्पेसका अनुसार यस अभियानले अन्तरिक्षमा कम्प्युटिङ प्रविधिको विकास र यसको व्यावसायिक प्रयोगलाई तीव्रता दिन सहयोग पुर्‍याउनेछ।

कम्पनीले अन्तरिक्ष कक्षमा कृत्रिम बुद्धिमत्तासम्बन्धी पूर्वाधार नेटवर्क निर्माण गर्ने योजना बनाएको छ। उक्त नेटवर्कमा २ हजार ८०० कम्प्युटर उपग्रह समावेश हुनेछन्।

यस परियोजनाअन्तर्गत पहिलो समूहका १२ उपग्रह सन् २०२५ को मे महिनामा प्रक्षेपण गरिएको थियो।

कम्पनीले जनवरीमा आफ्नो अन्तरिक्षमा आधारित कम्प्युटिङ नेटवर्कमा अलिबाबाको ‘क्वेन–३’ कृत्रिम बुद्धिमत्ता मोडेल जडान गरिएको घोषणा गरेको थियो।

कम्पनीले सन् २०३० सम्ममा एक हजार उपग्रहको नेटवर्क निर्माण गर्ने र सन् २०३५ सम्ममा विश्वकै सबैभन्दा ठूलो उपग्रह समूह स्थापना गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: ३० आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार