खगोल/अन्तरिक्ष

अमेरिकी स्पेस फोर्सका लागि स्पेसएक्सले प्रक्षेपण गर्‍यो गोप्य जासुसी उपग्रह

अमेरिकी स्पेस फोर्सका लागि स्पेसएक्सले प्रक्षेपण गर्‍यो गोप्य जासुसी उपग्रह
Global IME Bank

स्पेसएक्सले अमेरिकी स्पेस फोर्सका लागि अर्को गोप्य अन्तरिक्ष मिसन प्रक्षेपण गरेको छ। मंगलबार (नोभेम्बर २४) क्यालिफोर्नियाबाट फाल्कन–९ रकेटमार्फत अज्ञात पेलोड अन्तरिक्षमा पठाइएको हो।

भ्यान्डेनबर्ग स्पेस फोर्स बेसको स्पेस लन्च कम्प्लेक्स–४ई बाट स्थानीय समयअनुसार बिहान ११ बजेर ८ मिनेटमा फाल्कन–९ रकेट प्रक्षेपण गरिएको थियो। रकेटले अमेरिकी स्पेस फोर्सको यूएसएसएफ–२६६ मिसन बोकेको थियो। यो महिनामा स्पेसएक्सले अमेरिकी सैन्य निकायका लागि प्रक्षेपण गरेको चौथो मिसन हो।

मिसनमा पठाइएको पेलोडबारे कुनै विवरण सार्वजनिक गरिएको छैन। तर, पछिल्लो दुई सातामा अमेरिकी राष्ट्रिय सुरक्षाका लागि गरिएको यो पाँचौँ अन्तरिक्ष प्रक्षेपण हो। अमेरिकी स्पेस फोर्सले आफ्नो सञ्चार तथा ट्र्याकिङ क्षमता विस्तार गर्ने प्रयास गरिरहेका बेला यो प्रक्षेपण भएको हो।

प्रक्षेपण भएको करिब दुई मिनेट ३० सेकेन्डपछि फाल्कन–९ को पहिलो चरणको बुस्टर रकेटको माथिल्लो चरणबाट अलग भएको थियो। माथिल्लो चरणले गोप्य पेलोडसहित पृथ्वीको तल्लो कक्षतर्फ यात्रा जारी राख्यो।

यसैबीच, बुस्टर प्रशान्त महासागरमा रहेको स्पेसएक्सको ‘अफ कोर्स आई स्टिल लभ यू’ नामक ड्रोनसिपतर्फ फर्किएको थियो। प्रक्षेपण भएको करिब आठ मिनेट ३० सेकेन्डपछि उक्त ड्रोनसिपमा बुस्टर सफलतापूर्वक अवतरण गरेको थियो।

मंगलबारको प्रक्षेपण फाल्कन–९ को उक्त बुस्टर बी१०८१ को २९औँ उडान थियो। यसअघि यही बुस्टरले नासाको क्रु–७ अन्तरिक्षयात्री मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुर्‍याएको थियो। साथै, यसले पीएसीई र अर्थकेयर वैज्ञानिक उपग्रह, स्पेस फोर्सका अन्य दुई गोप्य मिसन यूएसएसएफ–१५३ र यूएसएसएफ–४८१ तथा १६ वटा स्टारलिंक मिसन पनि प्रक्षेपण गरिसकेको छ।

स्पेस डटकमका अनुसार यसअघि स्पेस फोर्सका लागि गरिएका गोप्य प्रक्षेपणहरूले स्पेसएक्सका ‘स्टारसिल्ड’ उपग्रहहरू अन्तरिक्षमा पठाइएको हुन सक्ने अनुमानलाई बल दिएका छन्। स्टारसिल्ड स्पेसएक्सको स्टारलिंक इन्टरनेट उपग्रह प्रणालीमा आधारित परिमार्जित अन्तरिक्षयान हो। यसलाई राष्ट्रिय सुरक्षा प्रयोजनका लागि विकास गरिएको हो। यसले पृथ्वीको निगरानी र सुरक्षित सञ्चारजस्ता क्षमतामार्फत सैन्य गतिविधिमा सहयोग पुर्‍याउँछ।

यद्यपि, यूएसएसएफ–२६६ मिसनमा स्टारसिल्ड अन्तरिक्षयान पठाइएको हो वा होइन भन्नेबारे स्पेसएक्सले पुष्टि गरेको छैन।

यूएसएसएफ–२६६ भन्दा अघि स्पेसएक्सले यसै महिना भ्यान्डेनबर्गबाट स्पेस फोर्सका लागि तीनवटा अन्य गोप्य मिसन प्रक्षेपण गरेको थियो। नोभेम्बर ६ मा यूएसएसएफ–४३२, नोभेम्बर ११ मा यूएसएसएफ–६२७ र नोभेम्बर २० मा यूएसएसएफ–३१७ प्रक्षेपण गरिएका थिए।

त्यसैगरी, नोभेम्बर २२ मा राष्ट्रिय गुप्तचर कार्यालयका लागि एनआरओएल–१३६ मिसन पनि प्रक्षेपण गरिएको थियो। यी सबै मिसन फाल्कन–९ रकेटमार्फत प्रक्षेपण गरिएका थिए र तिनमा प्रयोग गरिएका पेलोडको विवरण सार्वजनिक गरिएको थिएन।

Sajilo Visa
easy care