काठमाडौं ।
नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यसहित मात्रिका टेक्नोलोजीले जेजे लाइट सफ्टवेयर सार्वजनिक गरेको छ।
नेपाली गहना व्यवसायका लागि आठ वर्षदेखि जे–ज्वेलरी सफ्टवेयर मार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले व्यवसायीको दैनिक कारोबारलाई सहज, बनाउने लक्ष्यसहित नयाँ सफ्टवेयर सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार जेजे लाइटमा बिक्री तथा बिलिङ, खरिद व्यवस्थापन, स्टक विवरण, कालिगढको हिसाब, ग्राहक सम्बन्ध व्यवस्थापन (सीआरएम) र कागजात व्यवस्थापनलगायत सुविधा समावेश छन्। एनएफआरएसमा आधारित लेखा व्यवस्थापन प्रणाली पनि यसमा उपलब्ध छ।
नेपाली र अंग्रेजी दुवै भाषामा प्रयोग गर्न सकिने सफ्टवेयर मोबाइल, ट्याब्लेट तथा कम्प्युटरबाट सञ्चालन गर्न मिल्ने गरी तयार गरिएको कम्पनीले जनाएको छ।
नेपाली सुनचाँदी तथा गहना व्यवसाय परम्परागत सीप, मौलिक डिजाइन र सांस्कृतिक पहिचानमा आधारित रहे पनि व्यवसाय विस्तारसँगै कारोबार, स्टक, लेखा तथा ग्राहकसम्बन्धी विवरण व्यवस्थित राख्नुपर्ने आवश्यकता बढ्दै गएको छ। यही आवश्यकतालाई ध्यानमा राखेर जेजे लाइट विकास गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले गहना व्यवसायलाई डिजिटल बजारसँग जोड्न जेजे मार्ट, ग्राहकलाई नियमित रूपमा रकम जम्मा गर्दै सुनचाँदी बचत गर्ने अवसर प्रदान गर्न जेजे बचत र गहना व्यवसायसँग सम्बन्धित पात्र तथा जानकारी उपलब्ध गराउन जेजे पात्रो को अवधारणा पनि अघि सारेको छ।
कृत्रिम बुद्धिमत्तामा आधारित सहयोगी प्रणालीका रूपमा जेजे साथी, व्यवसायीबीच ज्ञान तथा अनुभव आदानप्रदानका लागि जेजे कम्युनिटी र व्यवसायी तथा सम्बन्धित व्यक्तिलाई तालिम तथा व्यावसायिक ज्ञान उपलब्ध गराउन जेजे पाठशाला विकास गर्ने योजना कम्पनीले सार्वजनिक गरेको छ।
गहना छनोटमा ग्राहकलाई सहयोग पुर्याउने उद्देश्यले ज्योतिषीय मान्यताअनुसार चिना बनाई रत्न तथा धातुसम्बन्धी सुझाव दिने सुविधालाई पनि डिजिटल पहलको विशेष पक्षका रूपमा प्रस्तुत गरिएको छ।
कम्पनीका अनुसार जेजे लाइट साना तथा ठूला सबै गहना व्यवसायीलाई लक्षित गरी मासिक ९९९ रुपैयाँदेखि सुरु हुने प्याकेजमा उपलब्ध छ।
प्रकाशित: ३० आश्विन २०८३, शुक्रबार