
काठमाडौं ।
यो वर्षको शुरुवाती १० महिनामा जापानी संस्थाले भियतनाममा ३.४ अर्ब डलर लगानी गरेको छ। यो आँकडा गत वर्षको सोही अवधिको तुलनामा ९० प्रतिशतले बढी रहेको भियतनामनेटले जनाएको छ।
यो अवधिमा भियतनाममा १५० लगानी परियोजनाहरुले इजाजत पाएका छन्। देशमा दर्ता भएको पुँजी पनि निकै बढेर २ अर्ब डलरबाट २.४३ अर्ब डलर पुगेको छ।
सन् २०२१ अक्टोबरसम्म सूचीकृत भएका ९७ देशहरुमध्ये सिंगापुर, दक्षिण कोरिया तथा जापान प्रमुख लगानीकर्ताका रुपमा रहेका छन्। यो वर्ष भियतनाममा लगानी १.०९ प्रतिशत बढेर २३.७४ अर्ब डलर पुगेको आँकडा छ।
भियतनाममा टोयोटा, होन्डा, क्यानन, पानासोनिक, यामाहा, सुजुकी, मित्सुबिसी, मारुबेनी, सोजित्ज, इदेमित्सु तथा मित्शुइ लगायतका जापानी कम्पनीहरुको एकीकृत लगानी समग्र लगानीको १४.३ प्रतिशत रहेको छ।
जापानको प्रत्येक संस्थाको औसत लगानी १ करोड ३४ लाख भन्दा बढी रहेको र यो आँकडा सबै परियोजनाको औसत १ करोड १७ लाख डलरभन्दा बढी रहेको छ।
यो अवधिमा १०५ ओटा जापानी संस्थाहरुले भियतनाममा आफ्नो लगानी बढाएका छन् जसमार्फत् थप ७४ करोड १० लाख डलर पुँजी वृद्धि भएको छ।
जापानले अधिकांश लगानी निर्माणका क्षेत्रमा गरेको छ भने त्यसपछि उर्जा उत्पादन, वितरण तथा रियल स्टेटका क्षेत्रमा लगानी गरेको छ।
भियतनामको योजना तथा लगानी मन्त्रालयका अनुसार सिंगापुरले ६.७२ अर्ब, दक्षिण कोरियाले ४.१५ अर्ब, जापानले ३.३८ अर्ब, चीनले २.४९ अर्ब र हङकङले १.९८ अर्ब लगानी गरेको बताएको छ।
प्रकाशित: २० मंसिर २०७८, सोमबार