आईफोन २० प्रोमा टाइटेनियम फ्रेम पुनः प्रयोग हुन सक्ने
काठमाडौं ।
एप्पलले आईफोन १७ प्रो र १७ प्रो म्याक्समा टाइटेनियमको सट्टा आल्मुनियम फ्रेम प्रयोग गरेको थियो। कम्पनीले यस वर्ष सार्वजनिक गरेका आईफोन १८ प्रो र १८ प्रो म्याक्समा पनि यही सामग्रीलाई निरन्तरता दिएको छ। तर, एप्पलका उच्चस्तरीय आईफोनमा आल्मुनियमको प्रयोग धेरै समय नटिक्ने संकेत देखिएको छ।
टिपस्टर फिक्स्ड फोकस डिजिटलले आज चिनियाँ सामाजिक सञ्जाल वेइबोमार्फत आईफोन २० प्रोमा घुमाउरो डिजाइन हुने र त्यसका लागि टाइटेनियम फ्रेम बनाउने प्रारम्भिक इन्जिनियरिङ काम सुरु भइसकेको दाबी गरेका छन्। उनका अनुसार यसको फ्रेम आईफोन एयरमा प्रयोग गरिएको फ्रेमजस्तै हुनेछ, तर अझ बढी घुमाउरो बनाइनेछ।
जीएसएमएरिनाका अनुसार एप्पलको २०औँ वार्षिकोत्सवका अवसरमा सार्वजनिक हुने आईफोनसँग आईफोन एयरको डिजाइन जोडिएको यो पहिलो पटक होइन। गत अगस्टमा पनि यही टिपस्टरले आईफोन २० सिरिजमा एयरको जस्तै फ्रेम प्रयोग हुने बताएका थिए। पातलो डिजाइनमा आएको आईफोन एयरमा टाइटेनियम फ्रेम नै प्रयोग गरिएको छ।
यसैबीच, हालै सार्वजनिक भएको अर्को टिपस्टरको दाबीअनुसार एप्पलले आगामी वर्षका लागि चारवटा मोडल विकास गरिरहेको छ। तीमध्ये दुईवटामा चारैतिर घुमाउरो सिसा प्रयोग गरिने बताइएको छ।
यदि यो दाबी सही साबित भएमा आईफोन १५ प्रोबाट टाइटेनियम प्रयोग सुरु भएयता आईफोन १७ प्रो र आईफोन १८ प्रो सिरिज मात्रै आल्मुनियम फ्रेम भएका प्रो मोडल हुनेछन्। टिपस्टरको पोस्टमा प्रो म्याक्स मोडलको स्पष्ट उल्लेख छैन। तर, यसअघि सार्वजनिक भएका विभिन्न चर्चाअनुसार नयाँ डिजाइन दुवै प्रो मोडलमा लागू हुनेछ।
आईफोन २० प्रो सिरिज सन् २०२७ को सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको छ। त्यसैले यसबीचमा यसबारे थप जानकारी र विवरण सार्वजनिक हुन सक्नेछन्।