Apple

मानिसले स्वास्थ्यसम्बन्धी जानकारीका लागि एआई कसरी प्रयोग गर्छन् भन्ने अध्ययन गर्न एप्पलले ल्यायो नयाँ एप

मानिसले स्वास्थ्यसम्बन्धी जानकारीका लागि एआई कसरी प्रयोग गर्छन् भन्ने अध्ययन गर्न एप्पलले ल्यायो नयाँ एप
Global IME Bank

ओपनएआई र एन्थ्रोपिकजस्ता ठूला कृत्रिम बुद्धिमता कम्पनीहरूले स्वास्थ्यसम्बन्धी प्रश्नको जवाफ दिन सक्ने विशेष सुविधासहितका च्याटबट उपलब्ध गराउन थालेका छन्। यसैबीच, एप्पलले मानिसहरूले स्वास्थ्यसम्बन्धी जानकारीका लागि कृत्रिम बुद्धिमता कसरी प्रयोग गर्छन् भन्ने अध्ययन गर्न नयाँ अनुसन्धान कार्यक्रम सुरु गरेको छ।

तर अन्य एआई स्टार्टअपहरूजस्तै सेवा उपलब्ध गराउनुभन्दा एप्पलले चिकित्सकीय प्रमाणमा आधारित जवाफले मानिसलाई कसरी सहयोग गर्न सक्छ भन्ने अध्ययन गर्न चाहेको छ।

आईफोन निर्माता एप्पलले स्वास्थ्य क्षेत्रमा केन्द्रित एआई कम्पनी ओपनएभिडेन्ससँग साझेदारी गर्दै नयाँ अध्ययन एप सार्वजनिक गरेको छ। एप्पलले अमेरिकामा रहेका २१ वर्षभन्दा माथिका, आईफोन १५ वा त्यसपछिका मोडेल प्रयोग गर्ने, आईओएस २६ वा त्यसपछिको संस्करण चलाउने र एप्पल इन्टेलिजेन्स सुविधा सक्रिय गरेका प्रयोगकर्तालाई अध्ययनमा सहभागी हुन आमन्त्रण गरेको छ। कम्पनीले १२ महिनाभन्दा लामो समयसम्म सञ्चालन हुने यस अध्ययनमा बढीमा दुई लाख सहभागी समेट्ने लक्ष्य राखेको छ।

नयाँ एपमार्फत प्रयोगकर्ताले च्याटजीपीटी वा क्लाउडजस्तै स्वास्थ्यसम्बन्धी प्रश्न सोध्न सक्नेछन्। एपले दी न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन, जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन र नेचरजस्ता प्रकाशनमा उपलब्ध चिकित्सकीय तथ्यांकमा आधारित जवाफ दिनेछ।

एप्पलका अनुसार एपले दैनिक जीवनमा उठ्ने सामान्य स्वास्थ्यसम्बन्धी प्रश्नको सरल भाषामा जवाफ दिने प्रयास गर्नेछ। प्रयोगकर्ताले ती जवाफको मूल्यांकन गर्न र प्रतिक्रियासमेत दिन सक्नेछन्। उनीहरूलाई प्रत्येक महिना सर्वेक्षणमा सहभागी हुन पनि आग्रह गरिनेछ।

सहभागीले थप व्यक्तिगत र उपयोगी सुझाव प्राप्त गर्न हेल्थकिटमा उपलब्ध आफ्नो स्वास्थ्यसम्बन्धी तथ्यांक एपसँग साझा गर्न सक्नेछन्। यसमा आराम गरिरहेको अवस्थाको मुटुको धड्कन, शारीरिक गतिविधि, निद्रा र प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणको नतिजा समावेश छन्।

कम्पनीका अनुसार यो एपले प्रयोगकर्तालाई चिकित्सकसँगको भेटका लागि राम्रो तयारी गर्न पनि सहयोग गर्नेछ। त्यस्तै, गम्भीर स्वास्थ्य समस्यासम्बन्धी प्रश्न उठेमा उपयुक्त स्वास्थ्य सेवा प्रदायककहाँ पुग्न मार्गदर्शन गर्नेछ।

एप्पलले प्रयोगकर्ताको तथ्यांक सुरक्षित तेस्रो पक्षको क्लाउड सेवा प्रदायकलाई पठाउनुअघि पहिचान खुल्न नसक्ने गरी परिवर्तन गरिने जनाएको छ। उक्त तथ्यांक कुनै पनि प्रकारको एआई मोडेललाई तालिम दिन प्रयोग गरिने छैन। कम्पनीका अनुसार ओपनएभिडेन्सले प्रयोगकर्ताका प्रश्न र जवाफसम्बन्धी तथ्यांक २४ घण्टापछि मेटाउनेछ।

“एप्पलमा हामी जिम्मेवार नवप्रवर्तन वैज्ञानिक कठोरता र चिकित्सकीय प्रमाणमा आधारित हुनुपर्छ भन्ने विश्वास गर्छौं। स्वास्थ्य निकै व्यक्तिगत विषय हो। त्यसैले मानिसहरूले दैनिक जीवनमा स्वास्थ्यसम्बन्धी एआईसँग कसरी अन्तरक्रिया गर्छन्, त्यसलाई कसरी बुझ्छन् र मूल्यांकन गर्छन् भन्ने जान्न विशेष अनुसन्धान गर्नु सबैभन्दा उपयुक्त तरिका हो,” एप्पलकी स्वास्थ्य तथा फिटनेस उपाध्यक्ष डा. सुम्बुल देसाईले विज्ञप्तिमा भनेकी छन्।

उनले यस अध्ययनबाट प्राप्त जानकारीले स्वास्थ्य एआईसम्बन्धी व्यापक वैज्ञानिक बहसलाई अघि बढाउन सहयोग गर्ने बताएकी छन्। प्रविधिको विकाससँगै मानिसको स्वास्थ्य यात्रामा वास्तविक सहयोग पुर्‍याउने विश्वासिलो उपकरण निर्माण गर्न पनि यसले मद्दत गर्ने उनको भनाइ छ।

यो एप आजदेखि अमेरिकाका प्रयोगकर्ताका लागि डाउनलोड गर्न उपलब्ध भएको छ। एप्पलले आफ्नो हेल्थ एप वा सिरीमा एआईमा आधारित प्रश्नोत्तर सुविधा उपलब्ध गराउने योजना बनाएको छ कि छैन भन्ने अझै स्पष्ट भएको छैन।

यस क्षेत्रमा ठूलो सम्भावना देखिएको छ। ओपनएआईले यसअघि यसै वर्ष प्रयोगकर्ताले प्रत्येक साता स्वास्थ्यसम्बन्धी ३० करोडभन्दा बढी प्रश्न च्याटजीपीटीमा सोध्ने गरेको जनाएको थियो।

Sajilo Visa
easy care