आन्तरिक एआई प्रयोगको बजेट घटाउँदै एप्पल

  • Technology Khabar | २० कार्तिक २०८३, शुक्रबार
आन्तरिक एआई प्रयोगको बजेट घटाउँदै एप्पल
फाइल तस्बिर

काठमाडौं ।

अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना कर्मचारीले आन्तरिक काममा प्रयोग गर्ने कृत्रिम बुद्धिमत्ता (एआई) सेवाको दैनिक खर्च सीमा घटाउन थालेको छ। ब्लुमबर्गका अनुसार कम्पनीले विशेषगरी इन्जिनियरिङ टोलीका लागि एआई प्रयोगमा छुट्याइएको बजेट कटौती गर्न लागेको हो।

रिपोर्टअनुसार एप्पलले गत अक्टोबरमा इन्जिनियरिङ टोलीका लागि एआई प्रयोगको दैनिक खर्च सीमा ३०० अमेरिकी डलरबाट घटाएर २०० डलरमा झारेको थियो। अब केही टोलीका लागि यो सीमा दैनिक १०० डलरसम्म घटाउने तयारी भइरहेको छ।

इन्जिनियरिङबाहेकका अन्य विभागमा पनि एआई प्रयोगको खर्च सीमा तोक्ने विषयमा कम्पनीले छलफल गरिरहेको छ। त्यस्ता विभागका लागि दैनिक २५ डलरसम्मको सीमा निर्धारण हुन सक्ने ब्लुमबर्गले जनाएको छ।

टेकक्रञ्चका अनुसार एप्पलले आफ्ना इन्जिनियरिङ प्रक्रियामा एआई प्रविधिको प्रयोग विस्तार गर्दै आएको अवस्थामा खर्च सीमा घटाउने तयारीलाई महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। यसअघि कम्पनीले चिप विकासलगायतका काममा पनि जेनेरेटिभ एआई प्रयोग गर्ने सम्भावनाबारे अध्ययन गरेको थियो।

यस वर्षको सुरुवातमा विभिन्न कम्पनीले कर्मचारीलाई सकेसम्म धेरै एआई प्रयोग गर्न प्रोत्साहित गरेका थिए। उत्पादकत्व र कार्यक्षमता बढाउने उद्देश्यले कर्मचारीले एआई प्रयोग गर्दा खर्च हुने टोकनको मात्रा बढाउने प्रवृत्तिलाई ‘टोकनम्याक्सिङ’ भनिएको थियो।

तर, एआई प्रयोगसँगै त्यसका लागि तिर्नुपर्ने खर्च बढ्न थालेपछि कम्पनीहरूले यस्तो अभ्यासमा पुनर्विचार गर्न थालेका छन्। अहिले कतिपय कम्पनीले एआई प्रयोगको मात्रा सीमित गरेर खर्च नियन्त्रण गर्ने उपाय अपनाउन थालेका छन्।

एआई प्रविधि विकास र सञ्चालनमा लाग्ने खर्चको तुलनामा यसबाट प्राप्त हुने उत्पादकत्व वृद्धि पर्याप्त छ कि छैन भन्ने विषयमा पनि प्रश्न उठ्दै आएको छ। एआईले काम छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिए पनि त्यसबाट हुने वास्तविक लाभ स्पष्ट नहुँदा कम्पनीहरू खर्च व्यवस्थापनमा थप सतर्क हुन थालेका छन्।

प्रकाशित: २० कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार