लामो समयसम्म भएको साइबर आक्रमणमा ड्रीमहोस्टका ग्राहकका फाइल र इमेल चोरी भएको रिपोर्ट

  • Technology Khabar | २० कार्तिक २०८३, शुक्रबार
लामो समयसम्म भएको साइबर आक्रमणमा ड्रीमहोस्टका ग्राहकका फाइल र इमेल चोरी भएको रिपोर्ट

काठमाडौं ।

वेब होस्टिङ सेवा प्रदायक ड्रीमहोस्टले आफ्नो प्रणालीमा महिनौँसम्म भएको साइबर आक्रमणका क्रममा ह्याकरहरूले ग्राहकका इमेल र लगइन विवरण चोरी गरेको पुष्टि गरेको छ।

कम्पनीले गत बिहीबार साइबर आक्रमणबारे जानकारी सार्वजनिक गरेको थियो। उक्त घटनाका कारण कम्पनीको सेवा केही दिनसम्म अवरुद्ध भएको थियो। त्यसक्रममा ड्रीमहोस्टले केही ग्राहकको पासवर्डसमेत परिवर्तन गरेको थियो।

क्यालिफोर्नियाका महान्यायाधिवक्ताको कार्यालयमा बुझाएको तथ्यांक चुहावटसम्बन्धी सूचनाअनुसार साइबर आक्रमण गत अगस्टमा सुरु भएको थियो। आक्रमणका क्रममा ह्याकरहरूले सेसन टोकन प्राप्त गरेका थिए।

प्रयोगकर्ताले पासवर्ड राखेर लगइन गरेपछि पनि प्रणालीमा लगइन अवस्थामै रहन सहयोग गर्ने यस्तो टोकन चोरी भएमा ह्याकरहरूले सम्बन्धित प्रयोगकर्ताकै रूपमा प्रणालीमा प्रवेश गर्न सक्छन्।

कम्पनीका अनुसार ग्राहकले आफ्ना फाइल भण्डारण गर्न प्रयोग गर्ने ड्रीमहोस्टको फाइल म्यानेजरमा रहेको कमजोरीको फाइदा उठाउँदै ह्याकरहरूले आक्रमण गरेका थिए। तर, उक्त कमजोरी के थियो भन्नेबारे कम्पनीले खुलाएको छैन।

यसबारे सोध्दा ड्रीमहोस्टका प्रवक्ताले अनुसन्धान जारी रहेकाले गत सातासम्म पनि कम्पनीले साइबर आक्रमणबारे किन पत्ता लगाउन सकेन भन्ने विषयमा टिप्पणी गर्न अस्वीकार गरेको टेकक्रन्चले  उल्लेख गरेको छ। उनले फाइल म्यानेजरमा रहेको कमजोरीको प्रकृतिबारे पनि जानकारी दिएनन्।

कम्पनीले यो घटना हालै पीएचपी वेब सफ्टवेयरमा पत्ता लागेका कमजोरीसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ।

ड्रीमहोस्टका प्रवक्ताका अनुसार यो घटनाबाट प्रभावित ग्राहकको संख्या कुल ग्राहकको १० प्रतिशतभन्दा निकै कम छ। यद्यपि उनले प्रभावित ग्राहकको यकिन संख्या भने सार्वजनिक गर्न मानेनन्। कम्पनीले आफ्नो नेटवर्कमा करिब चार लाख भुक्तानी गर्ने ग्राहक रहेको जनाएको छ।

प्रकाशित: २० कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...