काठमाडौं ।
अस्ट्रेलियाली ग्राफिक डिजाइन प्लेटफर्म क्यान्भाले आफ्नो कुल जनशक्तिको २२ प्रतिशतलाई प्रभावित गर्ने गरी संगठनात्मक पुनर्संरचना गर्ने भएको छ।
कम्पनीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मेलानी पर्किन्सले बुधबार कर्मचारीलाई पठाएको सन्देशमार्फत १ हजार २७१ जना प्रभावित हुने जानकारी दिएकी हुन्।
तर, प्रभावित हुने सबै कर्मचारीले जागिर गुमाउने भने होइनन्। कम्पनीको आधिकारिक घोषणाअनुसार केही कर्मचारीको जिम्मेवारी परिवर्तन हुनेछ भने केहीलाई केन्द्रीय कार्यालयमा स्थानान्तरण हुन आग्रह गरिनेछ। बाँकी कर्मचारीले भने कम्पनी छाड्नुपर्नेछ। जागिर गुमाउने कर्मचारीको वास्तविक संख्या कम्पनीले सार्वजनिक गरेको छैन।
रोयटर्सका अनुसार कम्पनीले जागिर छाड्नुपर्ने कर्मचारीका लागि कम्तीमा ६ महिनाको तलब उपलब्ध गराउने जनाएको छ। यो सुविधा कर्मचारीको देशअनुसार फरक नपर्ने र कानुनअनुसार पाउनुपर्ने सेवासुविधासमेत त्यसमा समावेश हुने कम्पनीको भनाइ छ।
त्यस्तै कम्पनीले उपलब्ध गराउँदै आएको देशमा प्रभावित कर्मचारीले थप १२ महिनासम्म स्वास्थ्य बीमा सुविधा पाउनेछन्। उनीहरू र उनीहरूका परिवारका सदस्यले एक वर्षसम्म कम्पनीको कर्मचारी सहायता कार्यक्रम ‘क्यान्भा केयर’ प्रयोग गर्न सक्नेछन्।
कम्पनीले कर्मचारीलाई थप करिअर सहयोगसमेत उपलब्ध गराउने भएको छ। यसअन्तर्गत व्यक्तिगत करिअर परामर्श, अन्तर्वार्ताको तयारी र एक वर्षको ‘लिंक्डइन प्रिमियम’ सदस्यता उपलब्ध हुनेछ।
कम्पनीले प्रभावित कर्मचारीलाई सम्भावित नयाँ रोजगारीसँग जोड्न आफ्ना लगानीकर्ता, साझेदार र व्यावसायिक सञ्जालमा उनीहरूको विवरणसहितको प्रतिभा सूचीसमेत साझा गर्ने जनाएको छ।
त्यस्तै, कम्पनीबाट बिदा हुने कर्मचारीले प्रयोग गर्दै आएको म्याकबुक आफैँसँग राख्न पाउनेछन्। पछिल्लो एक वर्षभित्र कम्पनीमा आबद्ध भएका कर्मचारीका हकमा एक वर्ष पूरा भएपछि मात्रै सेयर सुविधा प्राप्त हुने सर्तसमेत हटाइने भएको छ।
आफ्नै व्यवसाय वा समुदायका लागि केही नयाँ काम सुरु गर्न चाहने कर्मचारीलाई लक्षित गर्दै क्यान्भाले ‘क्यान्भा कलेक्टिभ फन्ड’ पनि स्थापना गरेको छ। यसबाट इच्छुक कर्मचारीले १० हजार अमेरिकी डलरसम्म अनुदान पाउन सक्नेछन्।
यस्तो अनुदानमा कम्पनीले उनीहरूले सुरु गर्ने व्यवसाय वा परियोजनामा कुनै स्वामित्व वा हिस्सेदारी दाबी नगर्ने जनाएको छ। यसका लागि इच्छुक कर्मचारीले डिसेम्बर १४ सम्म आवेदन दिन सक्नेछन्।
आम्दानी वृद्धिको अनुमान घटाएपछि पुनर्संरचना
क्यान्भाले यो निर्णय लिनुको पछाडि कम्पनीको सुस्ताउँदै गएको वृद्धिदर र प्रविधि क्षेत्रमा आएको परिवर्तनलाई मुख्य कारणका रूपमा प्रस्तुत गरेको छ। सीईओ पर्किन्सले कर्मचारीलाई पठाएको सन्देशमा कम्पनीको वृद्धिदर एक दशकपछि पहिलोपटक सुस्त भएको उल्लेख गरेकी छन्। उनका अनुसार कम्पनीको इतिहासमा यो सबैभन्दा कठिन वर्ष बनेको छ।
टेकक्रन्चका अनुसार क्यान्भाले सन् २०२६ का लागि आम्दानी वृद्धिको अनुमान यसअघि ३० प्रतिशत राखेकोमा घटाएर २० प्रतिशतमा झारेको थियो। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास र त्यसमा बढिरहेको खर्च पनि कम्पनीका लागि चुनौती बनेको छ।
आफ्नै एआई मोडेल विकास गरेर तेस्रो पक्षका प्रविधिमाथिको निर्भरता र खर्च घटाउने प्रयास गरिरहेको क्यान्भाले एआईमा बढ्दो प्रतिस्पर्धासमेत सामना गरिरहेको छ।
कम्पनीले भने आफ्नो आधिकारिक घोषणामा एआईलाई कर्मचारी कटौतीको प्रत्यक्ष कारण भनेको छैन। उसले नयाँ प्रविधिले मानिसले सामग्री सिर्जना गर्ने तरिका र डिजिटल उत्पादनप्रतिको अपेक्षा परिवर्तन गरिरहेको उल्लेख गरेको छ।
सिड्नीलाई मुख्य केन्द्र बनाउने योजना
पुनर्संरचनाअन्तर्गत क्यान्भाले आफ्नो उत्पादन, वृद्धि र प्लेटफर्मसम्बन्धी तीन विभागलाई एउटै उत्पादन संगठनमा गाभ्ने भएको छ। व्यवस्थापनका तह घटाउने, दोहोरिएका जिम्मेवारी एकीकृत गर्ने र कर्मचारीलाई फराकिलो जिम्मेवारी दिने कम्पनीको योजना छ।
त्यस्तै उत्पादन टोलीका लागि अस्ट्रेलियाको सिड्नीलाई प्रमुख केन्द्र बनाइने भएको छ। यसका लागि केही कर्मचारीलाई सिड्नी स्थानान्तरण हुन आग्रह गरिनेछ। आगामी जनवरीदेखि अधिकांश हाइब्रिड प्रणालीमा काम गर्ने कर्मचारीलाई सातामा दुईदेखि तीन दिन कार्यालय उपस्थित हुनसमेत अपेक्षा गरिएको छ।
सन् २०१३ मा स्थापना भएको क्यान्भा अहिले विश्वका सयौँ मिलियन प्रयोगकर्ताले प्रयोग गर्ने डिजाइन प्लेटफर्म बनेको छ। कम्पनीले ३७ देशमा आफ्नो सञ्चालन विस्तार गरेको छ।
प्रकाशित: २० कार्तिक २०८३, शुक्रबार