ताजा समाचार

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि आवेदन खुला

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि आवेदन खुला
Global IME Bank

अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल ‘अल्टरनेटिभा फिल्म फेस्टिभल’ (एएफएफ) ले सन् २०२७ मा आयोजना हुने चौथो संस्करणका लागि आवेदन खुला गरेको छ।

सन् २०२७ को अन्त्यतिर पहिलो पटक अफ्रिकामा आयोजना हुन लागेको फेस्टिभलमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीले सहभागिता जनाउन सक्नेछन्। फेस्टिभलअन्तर्गत फिचर फिल्मतर्फ तीनवटै क्षेत्रका चलचित्रकर्मीले आवेदन दिन पाउनेछन् भने सर्ट फिल्मतर्फ अफ्रिकी चलचित्रकर्मीलाई मात्र आवेदन दिने व्यवस्था गरिएको छ।

कुल १ लाख २० हजार अमेरिकी डलर पुरस्कार राशि रहेको फेस्टिभलका लागि सन् २०२६ अक्टोबर २९ देखि सन् २०२७ मार्च १ सम्म निःशुल्क आवेदन दिन सकिनेछ। फेस्टिभल आयोजना हुने देश, सहर र निश्चित मिति भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ।

सन् २०२३ मा काजाकिस्तानको अल्माटीबाट सुरु भएको अल्टरनेटिभा फिल्म फेस्टिभल सन् २०२४ मा इन्डोनेसियाको योग्याकार्ता र सन् २०२६ मा कोलम्बियाको मेडेलिनमा आयोजना गरिएको थियो। प्रत्येक संस्करण फरक क्षेत्रमा आयोजना गर्ने अवधारणाअनुसार चौथो संस्करण अफ्रिकामा गर्न लागिएको हो।

अल्टरनेटिभाकी लिड लिजा सुर्गानोभाले फेस्टिभलको प्रत्येक संस्करणसँगै यसको पहुँच विस्तार हुनुका साथै चलचित्रकर्मीका लागि नयाँ अवसर सिर्जना भइरहेको बताइन्। उनले भनिन्, ‘हरेक संस्करणसँगै अल्टरनेटिभा फिल्म फेस्टिभलको पहुँच र आकार मात्र बढेको छैन, चलचित्रकर्मीबीच नयाँ सम्बन्ध स्थापित हुनुका साथै उनीहरूका लागि थप अवसर पनि सिर्जना भइरहेका छन्। पहिलो पटक अफ्रिकामा फेस्टिभल आयोजना गर्ने तयारीसँगै हामी अहिलेसम्मका उपलब्धिलाई अझ विस्तार गर्दै यस संस्करणलाई हालसम्मकै ठूलो र प्रभावकारी बनाउन चाहन्छौँ। साथै, चलचित्रकर्मीका लागि नयाँ पहलहरू पनि अघि बढाउने हाम्रो योजना छ।’

अफ्रिका विविध संस्कृति, दृष्टिकोण र मौलिक चलचित्र सिर्जनाले समृद्ध क्षेत्र रहेको उल्लेख गर्दै उनले यस संस्करणले चलचित्रमार्फत सामाजिक परिवर्तनका विषयमा नयाँ बहस र सहकार्यको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन्।

‘हामी अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीलाई आफ्ना सिर्जना र दृष्टिकोणसहित यस यात्रामा सहभागी हुन आमन्त्रण गर्दछौँ,’ उनले थपिन्।

फिचर र सर्ट फिल्मका लागि आवेदन दिन सकिने

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ मा सन् २०२६ जनवरी १ पछि निर्माण सम्पन्न भएका चलचित्रले आवेदन दिन पाउनेछन्। कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन तथा विभिन्न शैलीको संयोजनमा निर्माण गरिएका चलचित्रलाई आवेदन खुला गरिएको छ।

आयोजकका अनुसार, ४० मिनेट वा सोभन्दा बढी अवधिका फिचर फिल्मतर्फ अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीले आवेदन दिन सक्नेछन्। त्यस्तै, ४० मिनेटसम्मका सर्ट फिल्मतर्फ भने अफ्रिकी चलचित्रकर्मीले मात्र आवेदन दिन पाउनेछन्।

फेस्टिभलमा कुल १ लाख २० हजार अमेरिकी डलर बराबरको पुरस्कार राशि सातवटा विधामा वितरण गरिनेछ। तीमध्ये फिचर फिल्मतर्फको एक ‘फोकस अवार्ड’ र सर्ट फिल्मतर्फका दुई ‘सट्र्स अवार्ड’ अफ्रिकी चलचित्रकर्मीका लागि छुट्याइएको छ।

आवेदन दिन योग्य देशहरूको सूची, छनोट प्रक्रिया, पुरस्कारका विधा तथा अन्य आवश्यक मापदण्डबारे विस्तृत जानकारी अल्टरनेटिभाको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२६ मा ‘फोकस अवार्ड’ प्राप्त गरेका पेरुका फिल्ममेकर अगस्टो जेगाराले फेस्टिभलले चलचित्रकर्मीप्रति देखाएको प्रतिबद्धता प्रशंसनीय रहेको बताए।

उनले भने, ‘अल्टरनेटिभा फिल्म फेस्टिभल आतिथ्य सत्कारमा मात्र होइन, आफ्ना प्रतिबद्धतालाई व्यवहारमा उतार्ने विषयमा पनि निकै उदार छ। ल्याटिन अमेरिकी चलचित्रकर्मीलाई यस प्रकारको सहयोग र सम्मान प्राप्त हुनु निकै महत्वपूर्ण छ। इनड्राइभजस्ता कम्पनीले संस्कृति, चलचित्र र ग्लोबल साउथका समुदायबीच सम्बन्ध विस्तारमा लगानी गर्दा सामूहिक प्रयासप्रति मेरो विश्वास अझ बढ्छ। मेरा लागि यो वास्तवमै असाधारण पहल हो।’

त्यस्तै, अल्टरनेटिभा फिल्म फेस्टिभल २०२६ मा ‘नाटिभा अवार्ड’ प्राप्त चलचित्र लस्ट ल्यान्डकी प्रतिनिधि तथा मलेसियाली प्रोड्युसर एलिस सिकले फेस्टिभलले अन्तर्राष्ट्रिय चलचित्रकर्मीबीच सहकार्यको बलियो आधार तयार गरेको बताइन्।

उनले भनिन्, ‘अल्टरनेटिभालाई धन्यवाद। यस फेस्टिभलमा हामीले एउटा परिवारजस्तै सम्बन्ध निर्माण गरेका छौं र चलचित्र सिर्जनालाई निरन्तरता दिनेछौं। यहाँ हामीले नौ देशको सहभागितामा संयुक्त चलचित्र निर्माण परियोजना अघि बढाएका छौं। म यो चलचित्र निर्माण गर्न चाहन्छु र त्यसका लागि काम पनि सुरु गरिसकेकी छु।’

अघिल्लो संस्करणमा ५५ देशबाट १ हजार ८३१ आवेदन

अल्टरनेटिभा फिल्म फेस्टिभलको अघिल्लो संस्करणमा एसिया र ल्याटिन अमेरिकाका ५५ देशबाट कुल १ हजार ८३१ चलचित्रका आवेदन प्राप्त भएका थिए।

तीमध्ये ल्याटिन अमेरिकाका २२ र एसियाका ३३ देशको सहभागिता रहेको थियो। ल्याटिन अमेरिकाबाट मात्रै १ हजार ४९९ आवेदन प्राप्त भएका थिए। यस क्षेत्रबाट ब्राजिल, मेक्सिको र अर्जेन्टिनाका चलचित्रकर्मीले सबैभन्दा बढी आवेदन दिएका थिए।

एसियातर्फ भारत, इरान र चीनबाट सबैभन्दा बढी आवेदन प्राप्त भएका थिए। दक्षिणपूर्वी एसियामा इन्डोनेसिया, मलेसिया र फिलिपिन्स अग्रस्थानमा रहेका थिए भने मध्य एसियामा काजाकिस्तानबाट सबैभन्दा बढी आवेदन प्राप्त भएको थियो।

अल्टरनेटिभाकी प्रोग्राम डाइरेक्टर नतालिया पिलाएभाले कोलम्बियाको मेडेलिनमा सम्पन्न तेस्रो संस्करणले चलचित्रकर्मी र दर्शकबीच उत्साहजनक सम्बन्ध स्थापित गरेको बताइन्।

उनले भनिन्, ‘कोलम्बियाको मेडेलिनमा सम्पन्न अल्टरनेटिभा फिल्म फेस्टिभलको अविस्मरणीय तेस्रो संस्करणबाट भर्खरै फर्किएको जस्तो लाग्छ। दर्शकले भरिएका उत्साहपूर्ण चलचित्र प्रदर्शन हलहरू छाडेर आउँदा एकातिर भावुक बनाउँछ भने अर्कोतर्फ हरेक संस्करण नयाँ क्षेत्रमा आयोजना हुने फेस्टिभलको विशेषताले आगामी यात्राप्रति उत्साह थप्छ।’

अफ्रिकामा आयोजना हुने आगामी संस्करणले नयाँ चलचित्र प्रतिभा पहिचान गर्ने तथा ग्लोबल साउथका प्रभावशाली कथालाई विश्वव्यापी दर्शकमाझ पु¥याउने अवसर थप विस्तार गर्ने उनको भनाइ छ।

‘अब हामी अफ्रिकामा नयाँ अध्याय सुरु गर्दैछौँ। यससँगै अघिल्ला प्राथमिक क्षेत्र एसिया र ल्याटिन अमेरिकाका चलचित्रलाई पनि निरन्तर स्वागत गर्नेछौँ। अफ्रिकाका नयाँ चलचित्र प्रतिभा पहिचान गर्न र ग्लोबल साउथका प्रभावशाली कथालाई अझ व्यापक दर्शकमाझ पु¥याउन हामी उत्साहित छौँ,’ उनले थपिन्।

कोलम्बियाको मेडेलिनमा सम्पन्न अघिल्लो संस्करणमा ११ हजार दर्शक, १०७ अन्तर्राष्ट्रिय अतिथि र ६० भन्दा बढी साझेदार संस्थाको सहभागिता रहेको थियो। उक्त संस्करण हालसम्मकै ठूलो फेस्टिभल बनेको थियो ।

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि इच्छुक चलचित्रकर्मीले सन् २०२७ मार्च १ सम्म निःशुल्क आवेदन दिन सक्नेछन्।
आवेदन प्रक्रिया, योग्यता, पुरस्कार र अन्य विस्तृत जानकारी अल्टरनेटिभा फिल्म फेस्टिभलको आधिकारिक वेबसाइट मार्फत प्राप्त गर्न सकिनेछ।

Sajilo Visa
easy care