पाकिस्तानको सूचना प्रविधि निर्यातमा १७.४ प्रतिशतले वृद्धि
काठमाडौं ।
पाकिस्तानको सूचना प्रविधि (आईटी) सेवा निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। सन् २०२६ को अक्टोबर महिनामा पाकिस्तानको आईटी सेवा निर्यात १७.४ प्रतिशतले बढेर ४५ करोड ३० लाख अमेरिकी डलर पुगेको छ। यो पाकिस्तानको इतिहासमा एक महिनामा भएको हालसम्मकै उच्च आईटी निर्यात आम्दानी हो।
पाकिस्तानका अर्थमन्त्रीका सल्लाहकार खुर्रम शहजादले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा भएको आईटी निर्यात अघिल्लो महिनाको तुलनामा पनि ४.१ प्रतिशतले बढी हो। सूचना प्रविधि क्षेत्रमा निरन्तर बढिरहेको माग, डिजिटल सेवा विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा पाकिस्तानी सेवा प्रदायकको बढ्दो सहभागिताले निर्यात वृद्धिमा योगदान पु¥याएको देखिएको छ।
चालु आर्थिक वर्ष २०२६/२७ को पहिलो चार महिना अर्थात् जुलाईदेखि अक्टोबरसम्म पाकिस्तानले कुल एक अर्ब ७३ करोड अमेरिकी डलर बराबरको आईटी सेवा निर्यात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा भएको निर्यातको तुलनामा १७.६ प्रतिशतले बढी हो।
आईटी निर्यातसँगै पाकिस्तानको फ्रिलान्स क्षेत्रबाट हुने आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ। अक्टोबर महिनामा फ्रिलान्स सेवा निर्यातबाट प्राप्त आम्दानी २१ करोड अमेरिकी डलर पुगेको छ। यो गत वर्षको सोही महिनाको तुलनामा ५३ प्रतिशतले बढी हो। फ्रिलान्स क्षेत्रबाट भएको यो आम्दानी पनि हालसम्मकै उच्च मासिक निर्यात आम्दानी हो।
त्यस्तै, चालु आर्थिक वर्षको जुलाईदेखि अक्टोबरसम्म फ्रिलान्स सेवा निर्यातबाट पाकिस्तानले ७६ करोड अमेरिकी डलर आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही चार महिनाको तुलनामा ४७ प्रतिशतले बढी हो।
पाकिस्तानका स्वतन्त्र रूपमा काम गर्ने सूचना प्रविधि जनशक्ति तथा डिजिटल सेवा प्रदायकले अन्तर्राष्ट्रिय बजारमा पु¥याएको सेवाका कारण फ्रिलान्स क्षेत्रको आम्दानी बढ्दै गएको तथ्यांकले देखाएको छ। सफ्टवेयर विकास, वेब डिजाइन, डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइन, सामग्री लेखन तथा अन्य अनलाइन सेवामार्फत पाकिस्तानी फ्रिलान्सरले विदेशी मुद्रा आर्जन गर्दै आएका छन्।
यसअघि आर्थिक वर्ष २०२५/२६ मा पाकिस्तानका फ्रिलान्सरले कुल एक अर्ब ७६ करोड अमेरिकी डलर बराबरको निर्यात आम्दानी गरेका थिए। चालु आर्थिक वर्षको पहिलो चार महिनामै ७६ करोड डलर आम्दानी हुनु यस क्षेत्रको तीव्र विस्तारको सङ्केतका रूपमा हेरिएको छ।
सल्लाहकार शहजादका अनुसार वर्तमान वृद्धिको गति कायम रहे चालु आर्थिक वर्ष २०२६/२७ मा पाकिस्तानको फ्रिलान्स सेवा निर्यात आम्दानी दुई अर्ब अमेरिकी डलरभन्दा माथि पुग्न सक्छ।
आईटी सेवा तथा फ्रिलान्स क्षेत्रबाट हुने निर्यातमा आएको वृद्धिले पाकिस्तानको विदेशी मुद्रा आर्जनमा योगदान पु¥याउनुका साथै डिजिटल अर्थतन्त्रको विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति विकास तथा रोजगारीका नयाँ अवसर सिर्जना गर्ने सम्भावनासमेत बढाएको छ।-रासस