मेक्सिकोले अर्को वर्ष मोबाइल स्पेक्ट्रम शुल्कमा १२ प्रतिशत कटौती गर्ने
काठमाडौं ।
उत्तर अमेरिकी देश मेक्सिकोले सन् २०२७ मा वार्षिक मोबाइल स्पेक्ट्रम शुल्कमा १२ प्रतिशत कटौती गर्ने घोषणा गरेको छ, जसले यसअघिका प्रस्तावहरूलाई पुष्टि गरेको छ।
स्पेक्ट्रमको अत्यधिक प्रयोग र त्यसबापत लाग्ने शुल्कबारे दूरसञ्चार सेवा प्रदायकहरूले लामो समयदेखि व्यक्त गर्दै आएको चिन्तालाई सम्बोधन गर्दै यो कटौती गरिएको हो। यसअन्तर्गत ८००/८५० मेगाहर्ज, १.७/२.१ गिगाहर्ज, १.९ गिगाहर्ज, २.५ गिगाहर्ज र ३.५ गिगाहर्ज ब्यान्डहरू पर्छन्।
६०० मेगाहर्ज र ७०० मेगाहर्ज ब्यान्डका लागि हाल कायम शुल्कहरु भने यथावत रहनेछन्।
नोभेम्बर १३ मा सार्वजनिक गरिएको संघीय शुल्कसम्बन्धी कानुनमा गरिएको सुधारको एक हिस्साका रूपमा आएको यो निर्णय सन् २०२७ जनवरी १ देखि लागू हुने उल्लेख छ।
उद्योग क्षेत्रको अनुमान अनुसार, सञ्चालकहरूले ओगटेको क्षेत्र र उनीहरूलाई दिइएको सञ्चालन अधिकार क्षेत्रका आधारमा, उनीहरूले वार्षिक रूपमा ३.५ अर्बदेखि ४ अर्ब पेसो (करिब १९ करोडदेखि २१.८ करोड अमेरिकी डलर) सम्म खर्च बचत गर्न सक्ने देखिन्छ।
मेक्सिकोको नियामक निकाय ‘सीआरटी’ को नियमहरूको अधीनमा रही, ‘डिजिटल रूपान्तरण एजेन्सी’ र ‘अर्थ मन्त्रालय’ ले तोकिएका भौगोलिक क्षेत्रहरू, राजमार्ग वा सडकहरूमा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाउने सञ्चालकहरूलाई (साना सञ्चालकहरू समेत समेटिने गरी) स्पेक्ट्रम शुल्कमा १०० प्रतिशत सम्म छुट प्रदान गर्न सक्छन्।