ताजा समाचार

माइक्रोसफ्टका सीईओ नाडेलाले खुलाए ६० हजार कर्मचारीलाई स्वैच्छिक राजीनामा प्रस्ताव गर्नुको कारण

माइक्रोसफ्टका सीईओ नाडेलाले  खुलाए ६० हजार कर्मचारीलाई स्वैच्छिक राजीनामा प्रस्ताव गर्नुको कारण
फाइल तस्बिर
Global IME Bank

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नाडेलाले गत अक्टोबरमा कम्पनीका ६० हजार कर्मचारीलाई स्वैच्छिक रूपमा राजीनामा दिन आर्थिक सुविधा (बाइआउट) प्रस्ताव गर्नुको कारण खुलाएका छन्। ठूलो संख्यामा कर्मचारी कटौती गर्नुको सट्टा कर्मचारीलाई आफैँ निर्णय गर्ने अवसर दिन यस्तो प्रस्ताव गरिएको उनको भनाइ छ।

बुधबार आयोजित डिलबुक समिटमा एन्ड्र्यु रस सोर्किनसँग कुरा गर्दै नाडेलाले यसको मुख्य कारण कृत्रिम बुद्धिमता (एआई) भए पनि कर्मचारीलाई एआईले प्रतिस्थापन गर्ने उद्देश्य नरहेको स्पष्ट पारे। विशेषगरी सफ्टवेयर इन्जिनियरलाई एआईले विस्थापित गर्ने नभई कम्पनीको काम गर्ने शैली नै परिवर्तन गर्न खोजिएको उनले बताए।

उनका अनुसार माइक्रोसफ्टलाई यस्तो कम्पनीका रूपमा पुनर्गठन गरिँदै छ, जहाँ प्रत्येक कर्मचारीले आफ्नो कामका लागि एआई प्रयोग गर्नेछन् र उनीहरूको मुख्य जिम्मेवारी एआई प्रणाली तथा एजेन्टको व्यवस्थापन र निर्देशनमा केन्द्रित हुनेछ।

‘सबै कर्मचारीले आफ्नो भविष्यबारे आफैँ निर्णय गर्न सकून् भन्ने सुनिश्चित गर्न हामीले यो प्रस्ताव गरेका थियौँ,’ उनले भने।

टेकक्रञ्चका अनुसार सफ्टवेयर इन्जिनियरिङको उदाहरण दिँदै नाडेलाले एआईप्रतिको बुझाइमा आएको परिवर्तनबारे व्याख्या गरे। उनका अनुसार सुरुमा एआईले सफ्टवेयर बनाउनै नसक्ने धारणा थियो। त्यसपछि एआईले सबै प्रकारका सफ्टवेयर बनाउन सक्ने र सफ्टवेयर इन्जिनियर आवश्यक नपर्ने धारणा विकास भयो। तर अहिले सफ्टवेयर इन्जिनियरिङको भूमिका अझै महत्त्वपूर्ण हुने र भविष्यमा यो क्षेत्र थप विकसित हुने बुझाइ स्थापित हुँदै गएको उनले बताए।

‘सफ्टवेयर इन्जिनियरिङ अझै जीवित छ र भविष्यमा फस्टाउनेछ। तर अहिले इन्जिनियरिङ टोलीको संगठन संरचना र सफ्टवेयर इन्जिनियरले गर्ने कामको प्रकृति परिवर्तन हुँदै नयाँ चरणमा प्रवेश गरेको छ,’ उनले भने।

उनका अनुसार केही कर्मचारीका लागि यस्तो पुनर्गठन र परिवर्तन कठिन हुन सक्छ। तर कम्पनीले यो परिवर्तन गर्नैपर्ने अवस्था रहेको उनले बताए।

नाडेलाले माइक्रोसफ्ट ३६५ का एपमा प्रयोग हुने एआई एजेन्ट कोवर्क निर्माण गर्ने टोलीको उदाहरण पनि दिए। उनका अनुसार उक्त टोलीमा जम्मा ११ जना विकासकर्ता छन्, जसले आफ्नो काममा एआई प्रयोग गर्ने सीप हासिल गरेका छन्।

‘उनीहरूले उत्पादन आफैँ बनाउँदैनन्। उनीहरूले उत्पादन निर्माण गर्ने सफ्टवेयर फ्याक्ट्री बनाउँछन्,’ नाडेलाले भने।

उनको विश्वासमा भविष्यमा माइक्रोसफ्टका सबै कर्मचारी प्रत्यक्ष रूपमा काम गर्नेभन्दा एआई एजेन्टलाई निर्देशन दिने र तिनको व्यवस्थापन गर्ने भूमिकामा पुग्नेछन्। उनका अनुसार काम गर्ने यो शैली सबै प्रकारका पेसामा विस्तार हुनेछ।

तर ५१ वर्ष पुरानो माइक्रोसफ्ट कम्पनीको सुरुवात नै एआईलाई केन्द्रमा राखेर भएको थिएन। त्यसैले पुरानो संगठनलाई एआईमा आधारित कार्यप्रणालीमा रूपान्तरण गर्न समय लाग्ने नाडेलाले बताए।

‘पहिलेदेखि सञ्चालनमा रहेको कम्पनीले आफ्नो काम गर्ने तरिका, कार्यप्रवाह र कामका नतिजा उत्पादन गर्ने प्रक्रियालाई कति छिटो परिवर्तन गर्न सक्छ भन्ने मुख्य प्रश्न हो। यससँग कर्मचारीको पारिश्रमिक र अन्य सुविधासम्बन्धी विषय पनि जोडिन्छन्,’ उनले भने।

उनका अनुसार यस्तो परिवर्तन पूरा हुन धेरैले अपेक्षा गरेभन्दा बढी समय लाग्न सक्छ। यस क्रममा केही कर्मचारीले आफ्नो करियरका लागि अन्य विकल्प रोज्न चाहन सक्ने उनले बताए।

गत साता ‘द प्राग्म्याटिक इन्जिनियर’ पोडकास्टमा गेर्गेली ओरोस्जसँगको कुराकानीमा पनि नाडेलाले ६० हजार कर्मचारीलाई स्वैच्छिक रूपमा राजीनामा दिन प्रस्ताव गर्नुको कारणबारे थप व्याख्या गरेका थिए।

उनका अनुसार एआई क्रान्तिबारे भइरहेको चर्चाले कर्मचारीमा आफ्नो भविष्यबारे निर्णय गर्ने नियन्त्रण गुमेको अनुभूति र ठूलो चिन्ता सिर्जना गरेको छ।

उनले एआईले मानव बुद्धिमतालाई उछिन्ने सम्भावित अवस्थालाई जनाउने ‘सिङ्गुलारिटी’ र एआईले सबै रोजगारी खोस्नेछ भन्ने भविष्यवाणीले कर्मचारीमा थप अन्योल सिर्जना गरेको बताए।

‘यस्ता सबै कुराले परिवर्तन चाहने व्यक्तिलाई समेत चिन्तित बनाउँछ। त्यसैले वास्तविक संरचनागत परिवर्तन गर्नुपर्छ, कर्मचारीलाई नयाँ भूमिकामा समायोजन गर्नुपर्छ र उनीहरूलाई अवसर दिनुपर्छ,’ उनले भने।

नाडेलाको भनाइको आशय माइक्रोसफ्टका कर्मचारीलाई अब एआईमा आधारित नयाँ कार्यप्रणालीअनुसार काम गर्न तयार हुन वा कम्पनी छाडेर आफ्नो करियरका अन्य विकल्प रोज्न अवसर दिनु रहेको देखिन्छ। यसरी कम्पनीले ठूलो संख्यामा कर्मचारीलाई अनिवार्य रूपमा हटाउनुभन्दा स्वैच्छिक बहिर्गमनको बाटो रोजेको हो।

Sajilo Visa
easy care