एप्लिकेसन

पलान्टिरका कर्मचारीमाथि जासुसी र दुर्व्यवहार गरेको आरोपमा रुसी नागरिकविरुद्ध मुद्दा

पलान्टिरका कर्मचारीमाथि जासुसी र दुर्व्यवहार गरेको आरोपमा रुसी नागरिकविरुद्ध मुद्दा
Global IME Bank

अमेरिकी न्याय मन्त्रालय (डीओजे) ले सिलिकन भ्यालीस्थित प्रविधि तथा रक्षा क्षेत्रमा काम गर्ने एक कम्पनीका कर्मचारीमाथि जासुसी र दुर्व्यवहार गरेको आरोपमा एक रुसी नागरिकविरुद्ध अभियोग दर्ता गरेको छ। मन्त्रालयले आफ्नो विज्ञप्तिमा कम्पनीको नाम उल्लेख नगरे पनि ब्लुमबर्गका अनुसार उक्त कम्पनी पलान्टिर हो। युक्रेनले युद्धका क्रममा कम्पनीको सफ्टवेयर प्रयोग गरेको विषयलाई लिएर रुसी अधिकारीहरूले ती व्यक्तिलाई यस्तो काम गर्न लगाएको बताइएको छ।

डीओजेका अनुसार इगोर डिउलाई रुसी सरकारले टेलिग्राममार्फत भर्ती गरेको थियो। उनलाई यही माध्यमबाट के गर्ने भन्ने निर्देशनसमेत दिइन्थ्यो। उनी टर्कीको इस्तानबुलबाट मेक्सिको सिटी पुगेका थिए। त्यहाँबाट सन् २०२६ को जुनमा अवैध रूपमा अमेरिकी सीमा पार गरेका थिए।

अमेरिका पुगेपछि उनलाई ल्यापटप, मोबाइल फोन, रिमोट एक्सेस सफ्टवेयर र वायरलेस नेटवर्किङ उपकरण खरिद गर्न लगाइएको थियो। उनले निगरानी गरिरहेको कम्पनीले “युक्रेनमा रुसविरुद्ध लड्न हतियार उपलब्ध गराइरहेको” उनलाई बताइएको थियो।

इन्ग्याजेटका अनुसार उनी सम्पर्कमा रहेका रुसी अधिकारीहरूले उनलाई पलान्टिरको पालो अल्टोस्थित कार्यालय नजिकैको एउटा कफी पसलमा गएर कर्मचारीका ल्यापटपका स्क्रिनका तस्बिर खिच्न निर्देशन दिएका थिए। उनीहरूले कम्पनीका कार्यालय नजिकै तोकिएका स्थानमा आफ्नो ल्यापटप अन गर्न पनि लगाएका थिए। यसबाट उनीहरूले टाढैबाट ती उपकरणमा पहुँच गरी आसपास रहेका कर्मचारीका डिभाइसबाट सूचना संकलन गर्न सक्थे।

उनको जिम्मेवारीमा पलान्टिरका कर्मचारी र उनीहरूका घरको निगरानी गर्नु पनि समावेश थियो। सेप्टेम्बरमा उनले एक महिला कर्मचारीलाई कारमा ३० माइलभन्दा बढी दूरीसम्म पछ्याएको आरोप छ।

अक्टोबर ८ मा डिउको घरमा खानतलासी गर्दा अधिकारीहरूले दुईवटा रुसी राहदानी र १८ हजार ३५ अमेरिकी डलर नगद फेला पारेका थिए। विदेशबाट उनका नाममा पठाइएका केही पार्सल पनि अधिकारीहरूले नियन्त्रणमा लिएका थिए। ती पार्सलमा नक्कली क्यालिफोर्निया परिचयपत्र र उनको तस्बिर राखेर परिवर्तन गरिएको सक्कली अमेरिकी राहदानी फेला परेको थियो।

प्रविधि कम्पनी पलान्टिर सरकार, कानुन कार्यान्वयन गर्ने निकाय र सेनालाई सामूहिक निगरानीका लागि प्रयोग गर्न सकिने प्रविधि उपलब्ध गराउने गरेको भन्दै विवादमा पर्दै आएको छ। यसअघि वायरडले पलान्टिरले बनाएको डाटाबेस अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) ले आफ्ना गतिविधिको निगरानी र विरोध गरेको आरोप लागेका व्यक्तिहरूबारे विस्तृत विवरण तयार पार्न प्रयोग गरेको रिपोर्ट प्रकाशित गरेको थियो।

ब्लुमबर्गका अनुसार अमेरिकाले पलान्टिरको प्रविधि युक्रेनलाई लक्ष्य पहिचान गर्न सहयोग पुर्‍याउन प्रयोग गर्दै आएको छ। यसबाहेक, युक्रेनको राजधानी किभमा रहेका युक्रेनी सेनाले देशमा विस्फोट नभएका रुसी बारुदी सुरुङ हटाउनेलगायत विभिन्न काममा कम्पनीका उत्पादन प्रयोग गर्दै आएका छन्।

डिउमाथि विदेशी सरकारको एजेन्टका रूपमा काम गर्ने षड्यन्त्र गरेको, महान्यायाधिवक्तालाई जानकारी नदिई विदेशी सरकारको एजेन्टका रूपमा काम गरेको, राज्यहरूबीचको सीमापारि पुगेर कसैको पिछा गरेको र परिचयपत्रसम्बन्धी कागजातमा ठगी गरेको गरी चारवटा अभियोग लगाइएको छ। उनी नोभेम्बर २४ मा संघीय अदालतमा उपस्थित हुने तय भएको छ।

Sajilo Visa
easy care