प्रविधि

एसियन क्लियरिङ युनियनको सञ्चालक समितिको ५४औँ बैठक सम्पन्न

एसियन क्लियरिङ युनियनको सञ्चालक समितिको ५४औँ बैठक सम्पन्न
Global IME Bank

नेपाल राष्ट्र बैंकको आयोजनामा एसियन क्लियरिङ युनियन (एसीयू) को स्थायी प्राविधिक समितिको बैठक र सञ्चालक समितिको ५४औं बैठक सम्पन्न भएको छ।

अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण तथा नीतिगत सुधारका विविध विषयहरूमा छलफल गर्न उक्त बैठक बसेकाे हाे।

सञ्चालक समितिको ५४औं बैठकले सन् २०२६/२७ का लागि एसीयूको अध्यक्षता नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरेको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले एसीयूको उद्देश्यप्रति नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको उल्लेख गर्दै सदस्य राष्ट्रहरूबीच स्वदेशी मुद्रा प्रयोग गर्ने अवधारणाले बाह्य क्षेत्रको स्थायित्व सुदृढ गर्न सहयोग पुग्ने धारणा राखेका थिए। साथै, एसीयूको द्धिमासिक हिसाब मिलान प्रणालीले सदस्य राष्ट्रहरूलाई भुक्तानीका क्रममा आउनसक्ने सम्भावित कठिनाईबाट जोगाउन सुरक्षा कवचका रूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन्।

भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्राले निर्बाध र प्रभावकारी सीमापार भुक्तानी तथा फस्र्यौटको सन्दर्भमा युनियनको भूमिका दर्शाउँदै संस्थागत सुदृढीकरण र निरन्तर कार्यसम्पादनका लागि सदस्यता विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

बैठकले एसीयू महासचिवको ‘द मिनेट्स अफ द ५३औँ बोर्ड अफ डाइरेक्टर्स मिटिङ हेल्ड बाइ सेन्ट्रल बैंक अफ इरान (सीबीआई) एण्ड अर्पेसन अफ द एसीयू इन २०२४-२५’ सम्बन्धी प्रतिवेदन ग्रहण गरेको थियो भने नोभेम्बर १७ मा सम्पन्न स्थायी प्राविधिक समितिले गरेका सिफारिसहरू अनुमोदन गरेको थियो। कार्यक्रममा सदस्य राष्ट्रका सञ्चालक, वैकल्पिक सञ्चालक तथा पर्यवेक्षकहरूले आ–आफ्नो देशको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थियो।

साथै, बैठकमा ‘डिजिटल इकोनोमी एण्ड क्रस बोर्डर रिजनद कर्पोरेसन रोडम्याप’ विषयमा छलफल भएको थियो।

बैठकले सन् २०२७/२८ का लागि एसीयूको अध्यक्षमा सेन्ट्रल बैंक अफ म्यानमार तथा उपाध्यक्षमा भारतीय रिजर्भ बैंकलाई चयन गर्नुका साथै बैठकले सञ्चालक समितिको आगामी बैठक जुन, २०२७ मा म्यानमारको नेपिडोमा आयोजना गर्ने निर्णय गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एसीयूले विगत ५० वर्षभन्दा लामो समयदेखि पुऱ्याउँदै आएको योगदानको प्रशंसा गर्दै विश्वव्यापी आर्थिक तथा भूराजनीतिक अनिश्चितताबाट सिर्जित चुनौतीहरूको सामना गर्न संस्थागत पारदर्शिता र आपसी विश्वास अपरिहार्य रहनेमा जोड दिए।

अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यका साथ सन् १९७४ मा एसियन क्लियरिङ युनियनको स्थापना भएको हो। इरानको तेहरानमा सचिवालय रहेको यस युनियनमा बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान, मौरिसस, बेलारुस र श्रीलङ्का गरी जम्मा ११ मुलुकका केन्द्रीय बैंकहरू आबद्ध छन्।

Sajilo Visa
easy care