काठमाडौं ।
नेटफ्लिक्सले आफ्नो कुल कर्मचारीमध्ये करिब ५ प्रतिशत कटौती गर्ने तयारी गरेको छ। यसबारे अर्को साताको सुरुमै घोषणा हुन सक्ने पक्क न्यूजले शुक्रबार स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ। नेटफ्लिक्सले भने यस समाचारबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
नेटफ्लिक्सले यसअघि सन् २०२२ मा ठूलो संख्यामा कर्मचारी कटौती गरेको थियो। त्यतिबेला कम्पनीको वृद्धि सुस्त भएको र ग्राहक संख्या घटेको अवस्थामा सयौँ कर्मचारी हटाइएको थियो।
गत वर्षको अन्त्यसम्म नेटफ्लिक्समा करिब १६ हजार पूर्णकालीन कर्मचारी कार्यरत थिए।
रोयटर्सका अनुसार स्ट्रिमिङ बजारमा प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा नेटफ्लिक्सले कर्मचारी कटौतीको तयारी गरेको समाचार आएको हो। सञ्चारमाध्यम कम्पनीहरू एकआपसमा गाभिने क्रम बढेको छ भने यूट्युबले दर्शकको समय र विज्ञापन बजारमा आफ्नो हिस्सा विस्तार गरिरहेको छ।
नेटफ्लिक्सले आम्दानीका स्रोत विविधीकरण गर्न सदस्यता शुल्कमा मात्र निर्भर नरही विज्ञापन, प्रत्यक्ष प्रसारण हुने कार्यक्रम र गेमिङ क्षेत्रमा पनि लगानी विस्तार गर्दै आएको छ।
प्रकाशित: २५ आश्विन २०८३, आईतवार