काठमाडौं ।
इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी) का अनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा विश्वभर ६ करोड २७ लाख पीसी (पर्सनल कम्प्युटर) बिक्री तथा आपूर्ति भएका छन्।
यो सङ्ख्या सन् २०२६ को दोस्रो त्रैमासिकको तुलनामा ९.१ प्रतिशत कम हो भने सन् २०२५ को तेस्रो त्रैमासिकको तुलनामा २०.१ प्रतिशतले घटेको हो।
इन्ग्याजेटका अनुसार आईडीसीले पीसीप्रतिको घट्दो मागका केही कारणमा “आपूर्ति समस्या” र “बढेको मूल्य” लाई उल्लेख गरेको छ। अर्को शब्दमा भन्नुपर्दा र्यामको अभाव र मूल्यवृद्धिको समस्या अझै जारी छ।
आईडीसीले सन् २०२६ को जुलाईमा नौ त्रैमासिकपछि पहिलो पटक पीसी आपूर्तिमा गिरावट आएको जनाएको थियो। त्यसको केही महिनाअघि नै संस्थाले सन् २०२६ भरको पीसी बजारसम्बन्धी आफ्नो पूर्वानुमान घटाएको थियो।
“उच्च मूल्यका कारण माग घटिरहेको बजारमा धेरै सामान मौज्दात राख्नुपर्ने अवस्थाप्रति बिक्रेताहरू अहिले चिन्तित छन्,” आईडीसीका उपभोक्ता उपकरणसम्बन्धी अनुसन्धान निर्देशक जितेश उब्रानीले आज जारी विज्ञप्तिमा भने। “यसले छुटमा सामान बिक्री गर्ने अवस्था सिर्जना गर्न सक्छ र उपभोक्तालाई छोटो समयका लागि केही राहत मिल्न सक्छ। तर, एक वर्षअघिको जस्तो मूल्यमा सामान उपलब्ध हुने अपेक्षा हामी गर्दैनौँ। मूल्य उच्च नै रहनेछ। समग्र आर्थिक अवस्था बिग्रँदै गएकाले आगामी केही त्रैमासिकको बजार अवस्था सुधार हुनुअघि अझ खराब हुन सक्ने जोखिम छ।”
त्यसैले कम्प्युटर वा यसका पार्टपुर्जा किन्ने सोचमा भएकाहरुले उपलब्ध छुटको फाइदा उठाउनु उत्तम रहने उनको भनाइ छ।
प्रकाशित: २५ आश्विन २०८३, आईतवार