Highlight News

मूल्य बढेसँगै अफ्रिकामा स्मार्टफोनको आपूर्ति ४० प्रतिशतले घट्यो

मूल्य बढेसँगै अफ्रिकामा स्मार्टफोनको आपूर्ति ४० प्रतिशतले घट्यो
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।
Global IME Bank

स्मार्टफोन र यससँग सम्बन्धित पार्टपुर्जाको मूल्य बढेपछि अफ्रिकाका उपभोक्ताले पुराना फोन लामो समयसम्म प्रयोग गर्ने वा सेकेन्ड ह्यान्ड बजारबाट फोन किन्ने गर्न थालेका छन्।

खर्च कटौती गर्ने उपभोक्ताको यो प्रवृत्तिले स्मार्टफोन निर्माता कम्पनीका लागि निराशाजनक अवस्था सिर्जना गरेको छ। ओम्डियाका नयाँ तथ्याङ्कअनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा अफ्रिकामा स्मार्टफोनको आपूर्ति अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले घटेर १ करोड ३७ लाख थानमा झरेको छ। ओम्डिया टेलिकम्स डटकमको भगिनी कम्पनी हो।

यो तीन वर्षयताकै सबैभन्दा ठूलो गिरावट हो। गत महिना आईडीसीले सार्वजनिक गरेको छुट्टै तथ्याङ्कअनुसार विश्वव्यापी स्मार्टफोन बजार २२ प्रतिशतले घटेको थियो। त्यसको तुलनामा अफ्रिकाको बजारमा आएको गिरावट अझ ठूलो छ।

यसको मुख्य कारण अफ्रिकाको स्मार्टफोन बजारमा सस्ता फोनको हिस्सा बढी हुनु हो। कृत्रिम बुद्धिमताका कारण मेमोरी चिपको अभाव र मूल्यवृद्धि हुँदा यही सस्तो फोनको बजार सबैभन्दा बढी प्रभावित भएको छ।

ओम्डियाका अनुसार १०० डलरभन्दा कम मूल्यका स्मार्टफोनको आपूर्ति अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ७० प्रतिशतले घटेको छ। यसबीच सामान्य मोबाइल फोनको आपूर्ति भने २७ प्रतिशतले बढेको छ। लागत बढेका कारण सुरुवाती मूल्यका स्मार्टफोनबाट हुने नाफा घटेको छ। यसले गर्दा उत्पादक कम्पनीहरूले कुन मोडल बजारमा ल्याउने र त्यसको मूल्य कति राख्ने भन्ने विषयमा सावधानीपूर्वक निर्णय गर्न थालेका छन्।

ओम्डियाका प्रमुख विश्लेषक मनिष प्रविणकुमारले भने, “यी तथ्याङ्कले अफ्रिकामा उपभोक्ताको खरिद निर्णयमा किफायती मूल्यले कति प्रभाव पारिरहेको छ भन्ने देखाउँछन्। केही उपभोक्ता नयाँ फोन किन्नुअघि लामो समय पर्खिरहेका छन् भने केहीले आफ्नो बजेटभित्र रहन पुरानो फोन मर्मत गरेर पुनः बिक्रीका लागि राखिएको स्मार्टफोन रोजिरहेका छन्।”

उनले भने, “अन्य धेरै क्षेत्रमा आपूर्ति घटे पनि औसत बिक्री मूल्य (एएसपी) बढेकाले बजारको कुल मूल्य कायम राख्न सहयोग पुगेको थियो। अफ्रिकामा सन् २०२६ को तेस्रो त्रैमासिकमा स्मार्टफोनको औसत बिक्री मूल्य २२२ डलर पुगेको छ, जुन पछिल्लो एक दशककै तेस्रो त्रैमासिकको सबैभन्दा उच्च मूल्य हो। तर पनि बजारको कुल मूल्य १५ प्रतिशतले घटेको छ। औसत मूल्य बढ्नुले उपभोक्ताको क्रयशक्तिमा रहेको खाडल फराकिलो हुँदै गएको देखाउँछ। उपभोक्ताले महँगा मोडल किन्न थालेको संकेत भने यसले गर्दैन।”

चिनियाँ स्मार्टफोन निर्माता ट्रान्सनले बजारमा पहिलो स्थान कायम राखेको छ। कुल आपूर्तिमा यसको हिस्सा ४८ प्रतिशत रहेको छ। तर सस्तो स्मार्टफोनको बजार खुम्चिँदा ट्रान्सनको आपूर्ति पनि ४३ प्रतिशतले घटेको छ।

यद्यपि, ट्रान्सनको प्रदर्शन साओमी र ओप्पोको तुलनामा राम्रो रह्यो। यी दुई कम्पनीको स्मार्टफोन आपूर्ति क्रमशः ४९ र ६९ प्रतिशतले घटेको छ। ओम्डियाका अनुसार साओमीका सबै प्रकारका स्मार्टफोनको मूल्य बढ्दा यसको बजार प्रभावित भएको हो। ओप्पो भने अर्को स्मार्टफोन निर्माता कम्पनी रियलमीसँग एकीकरण गर्ने क्रममा संगठनात्मक पुनर्संरचनामा जुटेको छ।

टेलिकम्स डटकमका अनुसार यसको तुलनामा दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङमा बजार गिरावटको असर कम परेको देखिन्छ। ओम्डियाका अनुसार मोबाइल सेवा प्रदायक कम्पनीहरूसँगको सम्बन्ध र ग्यालेक्सी ए सिरिजका विभिन्न मोडलले सामसङलाई सहयोग गरेका छन्। त्यसैले यसको स्मार्टफोन आपूर्ति ८ प्रतिशत मात्रै घटेको छ। सामान्य बजार अवस्थामा यो गिरावट चिन्ताजनक हुन सक्थ्यो, तर अहिलेको अनिश्चित परिस्थितिमा यसलाई राम्रो प्रदर्शन मानिएको छ।

भौगोलिक रूपमा नाइजेरिया र इजिप्टको बजार सबैभन्दा बढी प्रभावित भएका छन्। नाइजेरियामा स्मार्टफोनको आपूर्ति ४७ प्रतिशतले घटेको छ। त्यहाँ मोबाइल फोनको मूल्य बढ्नुका साथै इन्धन अनुदान हटाइएको र आयातको भुक्तानी गर्न अमेरिकी डलर पाउन कठिन भएको अवस्थाले बजारलाई थप प्रभावित पारेको ओम्डियाले जनाएको छ।

इजिप्टमा भने कमजोर हुँदै गएको इजिप्सियन पाउन्ड र निरन्तरको मूल्यवृद्धिका कारण उपभोक्ताको खर्च गर्ने क्षमता घट्दा स्मार्टफोनको आपूर्ति ४१ प्रतिशतले झरेको छ।

केन्या र दक्षिण अफ्रिकाको बजारमा भने समग्र अफ्रिकी बजारको तुलनामा केही कम गिरावट देखिएको छ। यी दुई देशमा स्मार्टफोनको आपूर्ति क्रमशः ३५ र २० प्रतिशतले घटेको छ।

आगामी अवस्थाबारे अनुमान गर्दै ओम्डियाले सन् २०२५ को तुलनामा सन् २०२६ मा अफ्रिकामा स्मार्टफोनको वार्षिक आपूर्ति २३ प्रतिशतले घट्ने जनाएको छ। सन् २०२७ मा पनि २५ प्रतिशत गिरावट आउने अनुमान गरिएको छ।

प्रविणकुमारले भने, “यो प्रक्षेपणले अफ्रिकाको स्मार्टफोन बजार सस्तो उपकरण र आपूर्तिमा निरन्तर हुने वृद्धिमा कति निर्भर छ भन्ने देखाउँछ। लागतको दबाब सन् २०२७ सम्म कायम रहने अपेक्षा गरिएको अवस्थामा उत्पादक कम्पनीहरूका लागि मूल्य निर्धारण चुनौतीपूर्ण हुनेछ। उनीहरूले सुरुवाती मूल्यका उपकरणबाट नाफा कायम राख्नुपर्नेछ। तर पार्टपुर्जाको बढेको लागत उपभोक्तामाथि सार्दा धेरै परिवारको पहुँचबाट स्मार्टफोन टाढिन सक्छ।”

ओम्डियाका अनुसार सरकार, स्मार्टफोन निर्माता कम्पनी र मोबाइल फोन बजारका अन्य पक्षसँग यो समस्या कम गर्ने विभिन्न उपाय छन्। तीमध्ये आयात शुल्क घटाउने र मोबाइल फोन किन्न किस्ताबन्दीमा भुक्तानी गर्ने व्यवस्था ल्याउने उपाय पनि छन्।

अफ्रिकामा मात्रै नभई विश्वव्यापी रूपमा स्मार्टफोन बजारले चुनौती सामना गरिरहेको अवस्थामा यसलाई सुधार्ने कुनै पनि सकारात्मक संकेत स्वागतयोग्य हुने बताइएको छ।

Sajilo Visa
easy care