एनभिडिया प्रकरणमा जोडिएका मेगास्पिड र अलिबाबाको सहायक कम्पनी अमेरिकाको कालोसूचीमा
काठमाडौं ।
अमेरिकाले एनभिडियाका एआई चिप चीन पुर्याएको आशंकामा अनुसन्धानमा रहेका मेगास्पिड र अलिबाबाको सिंगापुरस्थित सहायक कम्पनी एपेक्स इन्टरप्राइज सोलुसन्सलाई व्यापारिक कालोसूचीमा राखेको छ।
अमेरिकी वाणिज्य मन्त्रालयले सोमबार मेगास्पिड इन्टरनेसनल, एपेक्स इन्टरप्राइज सोलुसन्ससहित क्लाउड कम्पनीसँग सम्बन्धित अन्य पाँच कम्पनीलाई पनि ‘एन्टिटी लिस्ट’मा समावेश गरेको हो। अब यी कम्पनीले अमेरिकी प्रविधि तथा सामग्री आयात गर्न वाणिज्य मन्त्रालयको अनुमति लिनुपर्नेछ। यस्तो अनुमति अस्वीकृत हुने सम्भावना छ।
मेगास्पिडमाथि सन् २०२४ देखि अमेरिकी निर्यात नियन्त्रण उल्लंघन गर्दै एआई चिप चीन पुर्याएको आशंकामा अनुसन्धान भइरहेको थियो। कम्पनीले अलिबाबासँगको व्यावसायिक सम्बन्ध प्रयोग गरी एनभिडियाको आधिकारिक क्लाउड साझेदारको मान्यता लिएको फाइनान्सियल टाइम्सले जनाएको छ।
रोयटर्सका अनुसार अलिबाबाले भने आफ्नो सहायक कम्पनीले अमेरिकी निर्यात प्रतिबन्धमा रहेका उन्नत कम्प्युटिङ चिप अन्यत्र पठाएको आरोप अस्वीकार गरेको छ। कम्पनीले आफ्नो अधिकार र प्रतिष्ठाको रक्षाका लागि कानुनी बाटो अपनाउने जनाएको छ।
अमेरिकी वाणिज्य मन्त्रालयको निर्णयपछि मेगास्पिडका मालिक कम्पनी स्विफ्टडाटा र मलेसियास्थित सहायक कम्पनी स्पिडम्याट्रिक्स पनि कालोसूचीमा परेका छन्।
यस प्रकरणले अमेरिकी राजनीतिमा समेत विवाद बढाएको छ। अमेरिकी सिनेटरहरूले मेगास्पिडमाथिको अनुसन्धान र निर्यात नियन्त्रण कार्यान्वयनमा वाणिज्य मन्त्रालयको भूमिकाबारे प्रश्न उठाएका छन्। प्रतिनिधिसभाका डेमोक्रेट सांसदहरूले एनभिडियाले अनुसन्धान प्रभावित पारेको थियो कि थिएन भन्ने विषयमा समेत छानबिन सुरु गरेका छन्।
एनभिडियाले भने निर्यात नियन्त्रण र राष्ट्रिय सुरक्षासम्बन्धी जोखिमको निगरानी गर्न छुट्टै समिति गठन गरेको जनाएको छ। उता, सिंगापुरले पनि मेगास्पिडमाथिको अनुसन्धान जारी राख्ने जनाएको छ।