काठमाडौं ।
चिप निर्माता क्वालकमले चिप प्रविधि आपूर्तिकर्ता आर्म होल्डिङ्सविरुद्ध दायर गरेको मुद्दामा शुक्रबार जुरीले फैसला गर्ने भएको छ।
आर्मले लाइसेन्ससम्बन्धी सम्झौता उल्लंघन गरेको र मेटासँग क्वालकमको व्यावसायिक कारोबार बिगार्ने प्रयास गरेको थियो वा थिएन भन्ने विषयमा जुरीले निर्णय गर्नेछ।
रोयटर्सका अनुसार यी दुई कम्पनीबीच पाँच दिनसम्म चलेको सुनुवाइ दुई वर्षभित्रको दोस्रो हो। सन् २०१६ मा सफ्टबैंक ग्रुपले आर्ममाथि नियन्त्रण लिएपछि यी कम्पनीबीचको व्यावसायिक सम्बन्ध बिग्रँदै गएको छ।
आर्मले चिप बनाउन आवश्यक प्रविधिको लाइसेन्स दिने व्यवसायबाट आफ्नै चिप बिक्री गर्ने दिशामा अघि बढेपछि सम्बन्ध थप तनावपूर्ण बनेको हो।
क्वालकमले आर्मको कम्प्युटिङ संरचना प्रयोग गर्ने लाइसेन्स सन् २०३३ सम्मका लागि पाएको छ। तर आर्मको संरचनाका नयाँ संस्करण प्रयोग गर्न भविष्यमा दुवै कम्पनीबीच नयाँ सर्तमा सहमति हुन सक्छ वा सक्दैन भन्ने विषय पनि विवादको केन्द्रमा छ।
क्वालकमले आफ्ना डिजाइनका लागि आवश्यक सफ्टवेयर सुधार र उपकरण उपलब्ध नगराएर आर्मले लाइसेन्स सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ। आर्मको प्रोसेसर डिजाइनका लागि तिर्नुपर्ने रकम सबैभन्दा कम मूल्यको १० प्रतिशतको सीमाभित्र रहने सुनिश्चित गर्ने सम्झौता पनि उल्लंघन भएको क्वालकमको दाबी छ।
त्यस्तै, सन् २०२४ मा क्वालकमले महत्त्वपूर्ण लाइसेन्स सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आर्मले पठाएको पत्र ब्लुमबर्गलाई चुहाएर मेटासँगको क्वालकमको कारोबार बिगार्न खोजेको आरोप पनि क्वालकमले लगाएको छ।
यस साताको सुनुवाइमा आर्मका वकिलहरूले भने क्वालकमलाई आफूले लगाएका आरोपबाट कुनै क्षति नभएको दाबीमा जोड दिएका छन्। आर्मले क्वालकमले लाइसेन्सका सर्तबारे चलिरहेको विवादमा आफ्नो पक्ष बलियो बनाउन मुद्दा दायर गरेको आरोप लगाएको छ।
लाइसेन्सका सर्तबारे आर्मले इमानदारीपूर्वक वार्ता गरिरहेको छ वा छैन भन्ने विषयमा पनि यसै साता न्यायाधीशसमक्ष छुट्टै सुनुवाइ भएको छ। त्यसबारे फैसला शुक्रबारको जुरी निर्णयपछि मात्र आउने सम्भावना छ।
अमेरिकाको डेलावेयरस्थित संघीय अदालतमा चलेको यो मुद्दामा सन् २०२४ को सुनुवाइका कैयौँ विषय दोहोरिएका छन्। त्यतिबेला आर्मले क्वालकमले लाइसेन्स सम्झौता उल्लंघन गरेको प्रमाणित गर्न सकेको थिएन।
दुवै सुनुवाइमा आर्मका प्रमुख कार्यकारी रेने हास र क्वालकमका प्रमुख कार्यकारी क्रिस्टियानो आमोनले बयान दिएका छन्। दुवै मुद्दाको सुनुवाइ अमेरिकी जिल्ला न्यायाधीश मेरीलेन नोरेइकाले गरेकी हुन्।
क्वालकमकी वकिल करेन डनले सोमबारको प्रारम्भिक बहसमा यो मुद्दा कम्पनीका लागि अत्यन्त महत्त्वपूर्ण भएको बताइन्। उनले क्वालकमको चिप व्यवसाय आर्ममा निर्भर रहेको र आर्मले सम्झौता तथा आफ्ना प्रतिबद्धता पालना गर्नुपर्ने बताइन्।
क्वालकमले सम्झौता उल्लंघन भए पाँच वर्षसम्म रोयल्टी तिर्न रोक्न सक्ने व्यवस्था लाइसेन्स सम्झौतामा रहेको फैसला सुनुवाइअघि नै गरिदिन न्यायाधीश नोरेइकासँग माग गरेको थियो। तर उनले यसबारे निर्णय दिएकी छैनन्। आर्मले भने रोयल्टी नतिर्ने यस्तो व्यवस्था लागू गर्न नसकिने दाबी गरेको छ।
आर्मका वकिल ग्रेग लोकेसियोले सोमबार जुरीसमक्ष क्वालकमलाई कुनै क्षति नभएको बताएका थिए।
प्रकाशित: २५ आश्विन २०८३, आईतवार