काठमाडौं ।
फ्रान्सेली कृत्रिम बुद्धिमत्ता (एआई) इन्फ्राइस्टक्चर कम्पनी सेस्टेर्सले फिनल्यान्डमा ठूलो डेटा सेन्टर निर्माण गर्ने योजना सार्वजनिक गरेको छ। यस परियोजनामा १० अर्ब युरोभन्दा बढी (करिब ११ अर्ब २० करोड अमेरिकी डलर) लगानी हुने अपेक्षा गरिएको छ।
यो परियोजना मध्य फिनल्यान्डको जाम्सा सहरमा निर्माण गरिनेछ। सन् २०२१ मा बन्द भएको पुरानो कागज कारखानाको परिसरमा डाटा सेन्टर निर्माण गर्ने योजना कम्पनीले बनाएको हो।
परियोजनाको पहिलो चरणको निर्माण सन् २०२६ मा सुरु हुने अपेक्षा गरिएको छ। पहिलो चरणमा डाटा सेन्टरको क्षमता २०० मेगावाट हुनेछ।
दोस्रो चरणमा यसको क्षमता बढाएर ६०० मेगावाट पुर्याउने योजना छ।
सेस्टेर्सले यस परियोजनाका लागि प्रमुख ग्राहकसमेत सुनिश्चित गरिसकेको जनाएको छ।
दीर्घकालीन रूपमा कम्पनीले फिनल्यान्डमा कृत्रिम बुद्धिमत्ता (एआई) का लागि एक गिगावाटभन्दा बढी क्षमताको पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको छ। यसका लागि अन्य विद्यमान औद्योगिक क्षेत्रहरूको समेत उपयोग गरिने कम्पनीले जनाएको छ।
प्रकाशित: २५ आश्विन २०८३, आईतवार