राउटरमा यति धेरै एन्टेना किन हुन्छन्? यस्तो छ कारण

  • Technology Khabar | २९ भाद्र २०८३, सोमबार
राउटरमा यति धेरै एन्टेना किन हुन्छन्? यस्तो छ कारण
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

केही दशकअघिसम्म धेरै वाइफाइ राउटरमा एउटा मात्र एन्टेना हुन्थ्यो, जसले एकपटकमा एउटा मात्र वायरलेस डेटा स्ट्रिम सञ्चालन गर्न सक्थ्यो।

वाइफाइ प्रविधि सुधार हुँदै जाँदा इन्टरनेटको गति बढ्यो र घरमा इन्टरनेट जोडिएका उपकरणको संख्या पनि तीव्र रूपमा बढ्यो। त्यससँगै राउटरमा हुने एन्टेनाको संख्या पनि बढ्दै गयो। अहिले आठ वटासम्म एन्टेना भएका राउटर उपलब्ध छन्।

इन्ग्याजेटका अनुसार पहिलो नजरमा धेरै एन्टेना भएका राउटर केवल मार्केटिङका लागि बनाइएका जस्ता लाग्न सक्छन्। तर एउटा एन्टेना भएका राउटर पर्याप्त नहुनुको ठोस कारण छ। आठ वटा एन्टेना भएको अनौठो राउटर पनि त्यही कारणले बनाइएको हो, यद्यपि यसको अर्थ सबैका लागि आठ एन्टेना आवश्यक हुन्छ भन्ने होइन।

एन्टेनालाई एउटा लेन भएको सडकका रूपमा बुझ्न सकिन्छ। सानो सहरमा एउटा लेन पर्याप्त हुन्छ। त्यही सडक व्यस्त सहरमा पुगेपछि भने छिट्टै ट्राफिक जाम हुन सक्छ। इन्टरनेटको मुख्य प्रयोग इमेल पठाउने र प्राप्त गर्ने समयमा एउटा एन्टेना पर्याप्त थियो। तर अहिले अवस्था त्यस्तो छैन।

त्यसैले निर्माताहरूले एउटा मात्र लेन भएको राउटरको सट्टा एकैपटक धेरै लेनमा डेटा पठाउन सक्ने राउटर बनाउन थाले। यसका लागि एमआईएमओ (मल्टिपल–इनपुट, मल्टिपल–आउटपुट) प्रविधि प्रयोग गरिन्छ।

धेरै एन्टेनालाई उपयोगी बनाउने मुख्य प्रविधि यही हो। धेरैले सोचेजस्तो केवल थप एन्टेना जोड्दैमा फाइदा हुँदैन। एमआईएमओबिना थप एन्टेनाले समस्या समाधान गर्नुको सट्टा थप समस्या निम्त्याउन सक्छ।

धेरै एन्टेनाले वास्तवमा के गर्छन्?

एमआईएमओका कारण धेरै एन्टेना भएका राउटरले ‘स्पेसियल मल्टिप्लेक्सिङ’ नामक प्रविधिबाट बढी डाटा पठाउन सक्छन्। धेरै एन्टेनाले थप डेटा लेनका लागि ठाउँ उपलब्ध गराउँछन्। तर धेरै एन्टेना हुँदैमा स्वतः धेरै डेटा लेन बन्ने होइन। राउटरमा ती लेनलाई छुट्टाछुट्टै डेटा मार्गमा परिणत गर्ने आवश्यक आन्तरिक हार्डवेयर पनि हुनुपर्छ।

धेरै एन्टेनाको अर्को प्रयोग ‘बीमफर्मिङ’ हो। सरल भाषामा भन्नुपर्दा, यसले राउटरलाई तपाईंको उपकरण कहाँ छ भनेर पहिचान गर्न र त्यसतर्फ आफ्नो सिग्नल केन्द्रित गर्न सहयोग गर्छ। एन्टेनाको संख्या बढी हुँदा राउटरले यो काम अझ राम्रोसँग गर्न सक्छ, किनकि प्रत्येक अतिरिक्त एन्टेनाले सिग्नललाई थप सूक्ष्म रूपमा समायोजन गर्ने अवसर दिन्छ।

यसलाई धेरै मानिसले पोखरीमा निश्चित समयमा ढुंगा फ्याँकिरहेको अवस्थासँग तुलना गर्न सकिन्छ। उनीहरूले सिर्जना गरेका छाल एक निश्चित स्थानमा मिलेर बलियो बन्न सक्छन् र अन्य स्थानमा कमजोर रहन सक्छन्। बीमफर्मिङमा पनि यही सिद्धान्त लागू हुन्छ। राउटरले विभिन्न एन्टेनाबाट आएका सिग्नललाई समन्वय गरेर तपाईंको उपकरण वरपर अझ बलियो सिग्नल बनाउन सक्छ। एउटा मात्र एन्टेनासँग समन्वय गर्न अर्को सिग्नल हुँदैन।

सिग्नलको विविधता र विश्वसनीयता पनि धेरै एन्टेना प्रयोग गर्नुका महत्वपूर्ण कारण हुन्। घरभित्र वाइफाइ सिग्नल सिधै उपकरणसम्म पुग्दैनन्। ती भित्ता, फर्निचर, धातुका वस्तु र मानिसबाट समेत ठोक्किएर फर्किन्छन्। त्यसैले केही दूरीमा राखिएका धेरै एन्टेनाले अरू एन्टेनाले सफा सिग्नल प्राप्त गर्न नसकेको अवस्थामा कम्तीमा एउटा एन्टेनाले राम्रो सिग्नल प्राप्त गर्ने सम्भावना बढाउँछ।

त्यस्तै, एमयू–एमआईएमओ (मल्टिपल–युजर मल्टिपल–इनपुट, मल्टिपल–आउटपुट) का लागि पनि धेरै एन्टेना आवश्यक हुन्छन्। पुराना राउटरले एकपटकमा एउटा उपकरणलाई सेवा दिएर त्यसपछि छिटो अर्को उपकरणमा सेवा सार्ने गर्थे। एमयू–एमआईएमओले राउटरका एन्टेनालाई विभाजन गरेर एकैपटक धेरै उपकरणसँग सञ्चार गर्न सक्षम बनाउँछ।

कति धेरै एन्टेना आवश्यकताभन्दा बढी हुन्छन्?

धेरैजसो मानिस र घरका लागि आठ एन्टेना भएको राउटर आवश्यकताभन्दा बढी हुन्छ। सामान्यतया दुईदेखि चार एन्टेना भएको राम्रो राउटर पर्याप्त हुन्छ। वास्तवमा राउटरको कार्यसम्पादनमा एन्टेनाको संख्या मात्र महत्वपूर्ण हुँदैन। वाइफाइको मानक र सफ्टवेयरले पनि ठूलो भूमिका खेल्छन्।

यदि वाइफाइको कभरेज तपाईंको मुख्य चिन्ता हो भने आठ एन्टेना भएको राउटर उपयोगी हुन सक्छ, किनकि कभरेज सुधार गर्न सिग्नल समायोजन गर्ने थप विकल्प हुन्छन्। तर कभरेजका लागि केवल धेरै एन्टेना भएको राउटर प्रयोग गर्नुभन्दा मेस नेटवर्क स्थापना गर्नु सामान्यतया बढी भरपर्दो उपाय हो।

व्यवसायका लागि भने धेरै एन्टेना र डाटा स्ट्रिम भएको उच्च क्षमताको राउटर उपयोगी हुन सक्छ। विशेषगरी धेरै मानिस एकैपटक जोडिने कार्यालय, क्याफे वा अन्य स्थानमा यस्तो राउटर प्रभावकारी हुन सक्छ। तर यहाँ पनि एन्टेनाको संख्याभन्दा वाइफाइको मानक र सफ्टवेयरले नेटवर्कलाई धेरै उपकरण जोडिँदा पनि सहज रूपमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्छन्।

अर्को कुरा पनि बुझ्न आवश्यक छ–नयाँ र छिटो देखिने, धेरै एन्टेना भएको वाइफाइ राउटर हुँदैमा इन्टरनेटको गति अनिवार्य रूपमा बढ्दैन। अन्ततः तपाईंको अधिकतम इन्टरनेट गति तपाईंले लिएको इन्टरनेट प्याकेजले सीमित गर्छ। आठ वटा खुट्टा भएको माकुराजस्तो देखिने नयाँ राउटरले पनि त्यसलाई जादुजस्तै पार गर्न सक्दैन।

प्रकाशित: २९ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...