सामाजिक सञ्जाल प्रयोगका लागि उमेर सीमा तोक्ने योजनामा नेदरल्यान्ड्स

  • Technology Khabar | २९ भाद्र २०८३, सोमबार
सामाजिक सञ्जाल प्रयोगका लागि उमेर सीमा तोक्ने योजनामा नेदरल्यान्ड्स
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

नेदरल्यान्ड्स सरकारले बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा युरोपभर समान उमेर सीमा तोक्ने समर्थन गरेको छ। यसका लागि उसले युरोपेली संघभर समान व्यवस्था बनाउन स्पेनसँग सहकार्य गरिरहेको छ।

डिजिटल मामिलासम्बन्धी नेदरल्यान्ड्सकी राज्यमन्त्री एर्ड्ट्सले युरोपका बढ्दो संख्यामा देशले यस्तो प्रतिबन्धको समर्थन गरिरहेको बताइन्।

उनका अनुसार बालबालिका तथा युवाहरू अनलाइन हानिकारक सामग्रीको सम्पर्कमा पर्ने गरेका छन् र उनीहरूले चाहेकोभन्दा बढी समय सामाजिक सञ्जालमा बिताउने गरेका छन्।

टेलिग्राफका अनुसार नेदरल्यान्ड्स र स्पेनले कुनै पनि उमेर प्रमाणीकरण प्रणाली गोपनीयतामैत्री हुनुपर्नेमा जोड दिएका छन्।

उनीहरूका अनुसार यस्ता उपाय लागू गर्नुअघि नै त्यसको मूल्यांकन गर्नुपर्छ, ताकि अभिव्यक्ति स्वतन्त्रतालगायत बालबालिकाका मौलिक अधिकारमा अनावश्यक रूपमा असर नपरोस्।

दुवै देशले उमेर सीमा भविष्यमा पनि प्रभावकारी हुने र पटक–पटक परिवर्तन गर्न नपर्ने खालको हुनुपर्ने बताएका छन्।

बालबालिकाले सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्न सकून् भनेर उमेर सीमासँगै अन्य उपाय पनि लागू गर्नुपर्ने उनीहरूको भनाइ छ।

नेदरल्यान्ड्सको सत्तारूढ गठबन्धनले सामाजिक सञ्जाल प्रयोगका लागि युरोपेली स्तरमा न्यूनतम उमेर १५ वर्ष तोक्ने प्रस्ताव गरेको छ।

नेदरल्यान्ड्स र स्पेनको संयुक्त दस्तावेजमा निश्चित उमेर तोकिएको छैन। तर एर्ड्ट्सले १५ वर्षको उमेर नै नेदरल्यान्ड्स सरकारको धारणा रहेको पुष्टि गरेकी छन्।

यसैबीच, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले बालबालिकालाई अनलाइनमा सामना गर्नुपर्ने जोखिमबाट जोगाउन अर्को साता विस्तृत प्रस्ताव सार्वजनिक गर्ने घोषणा गरेकी छन्।

प्रकाशित: २९ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...