काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल ब्रोडब्याण्ड एन्हान्समेन्ट प्लान (नेपाल्स रोड टू फाइभजी)’ को मस्यौदा सार्वजनिक गर्दै त्यसउपर सल्लाह सुझाव पठाउन सम्बन्धित सबैमा आग्रह गरेको छ।
“उक्त मार्गचित्र/योजना उपर कुनै राय सुझाव तथा सल्लाह भए १५ दिन भित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ,” सूचनामा उल्लेख छ।
प्राधिकरणले नेपालमा मोबाइल ब्रोडब्यान्ड सेवाको विकास तथा फाइभजी प्रविधितर्फको आगामी यात्रालाई लक्षित गरी तयार पारेको ‘मोबाइल ब्रोडब्याण्ड एन्हान्समेन्ट प्लान (नेपाल्स रोड टू फाइभजी)’ को मस्यौदा आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको हो।
प्राधिकरणले नेपालको हालको मोबाइल दूरसञ्चार सेवाको अवस्थालाई सुधार गर्दै नवीनतम फाइभजी प्रविधितर्फ अघि बढ्ने उद्देश्यसहित उक्त योजना तयार पारेको जनाएको छ।
दूरसञ्चार बजारको वर्तमान अवस्था, मोबाइल सेवाको मागमा भइरहेको निरन्तर वृद्धि, अन्तर्राष्ट्रिय अभ्यास तथा प्रवृत्ति, सेवा प्रदायकबाट प्राप्त विवरण र विभिन्न सरोकारवालासँग गरिएको छलफलका आधारमा मस्यौदा तयार गरिएको प्राधिकरणले जनाएको छ।
सार्वजनिक गरिएको मस्यौदामा सन् २०२७ सम्ममा फाइभजीको राष्ट्रव्यापी औसत गति कम्तिमा २० एमबीपीएसमा पुर्याउने लक्ष्य निर्धारण गरिएको छ भने सन् २०३० सम्ममा महानगर र उप-महानगरहरूमा १०० एमबीपीएसको फाइभजी सेवा उपलब्ध हुनेछ।
यस्तै सन् २०३५ सम्ममा राष्ट्रव्यापी ५जी कभरेज उपलब्ध हुने लक्ष्य लिईएको उल्लेख छ।
प्रकाशित: २५ श्रावण २०८३, सोमबार