बाइनान्सबाट चोरी भएको १.२ अर्ब डलरभन्दा बढी क्रिप्टोकरेन्सी एफबीआईको नियन्त्रणमा
काठमाडौं ।
विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट चोरी भएको क्रिप्टोकरेन्सीमध्ये १ अर्ब २० करोड डलरभन्दा बढी अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले नियन्त्रणमा लिएको छ।
एफबीआईले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अमेरिकी न्याय मन्त्रालयले अदालतबाट अनुमति लिएर उक्त रकम जफत वा रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो।
गत महिना बाइनान्सबाट करिब ६ अर्ब ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको थियो। यसलाई हालसम्मकै ठूलो क्रिप्टोकरेन्सी चोरीको घटनाका रूपमा लिइएको छ। एफबीआईले यस घटनामा उत्तर कोरियाली ह्याकर समूह ‘ट्रेडरट्रेटर’ संलग्न रहेको आरोप लगाएको छ।
चोरी भएको रकममध्ये हालसम्म अमेरिकी सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा २ अर्ब ७० करोड डलरभन्दा बढीको क्रिप्टोकरेन्सी रोक्का गरिएको छ। त्यसमध्ये १ अर्ब २० करोड डलरभन्दा बढी रकम जफत वा रोक्का गर्न अदालतबाट अनुमति प्राप्त भएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ।
एपीन्युजका अनुसार यस्ता घटनामा अमेरिकी सरकारले सामान्यतया अदालतमा सम्पत्ति जफतसम्बन्धी दाबी पेस गर्छ। त्यसपछि न्यायाधीशले उक्त रकममाथि कसको वैध अधिकार छ भन्ने निर्णय गर्ने प्रक्रिया अघि बढ्छ।
यसैबीच, एफबीआईले उत्तर कोरियामाथि अर्को छुट्टै साइबर ठगीमा संलग्न रहेको आरोप पनि लगाएको छ। ‘फेसस्टिलर’ नाम दिइएको उक्त योजनामार्फत पछिल्लो १८ महिनामा करिब ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको एफबीआईको दाबी छ।
उक्त ठगीमा लोकप्रिय मेसेजिङ एपहरू ह्याक गर्ने र डीपफेक भिडियो रेकर्ड गर्ने जस्ता प्रविधि प्रयोग गरिएको बताइएको छ। यसमा विभिन्न चरणका सामाजिक इन्जिनियरिङ विधि अपनाएर प्रयोगकर्तालाई झुक्याउने गरिएको एफबीआईले जनाएको छ।
अमेरिकी अधिकारीहरूले उत्तर कोरियाले साइबर आक्रमण तथा डिजिटल ठगीबाट प्राप्त रकम आफ्नो शासन सञ्चालन र गैरकानुनी हतियार कार्यक्रमका लागि प्रयोग गर्ने गरेको आरोप लगाउँदै आएका छन्।