क्रिप्टोकरेन्सी

६ अर्ब ३० करोड डलरको क्रिप्टोकरेन्सी चोरीपछि बाइनान्सका वित्त प्रमुखले पद छाड्दै

६ अर्ब ३० करोड डलरको क्रिप्टोकरेन्सी चोरीपछि बाइनान्सका वित्त प्रमुखले पद छाड्दै
Global IME Bank

विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्जमध्ये एक बाइनान्सका प्रमुख वित्तीय अधिकृत (सीएफओ) काइजर एनजीले पद छाड्ने भएका छन्।

ब्लुमबर्गका अनुसार बाइनान्सकी सहप्रमुख कार्यकारी अधिकृत यी हेले एक विज्ञप्तिमार्फत एनजीले पाँच वर्षभन्दा बढी समय बाइनान्समा बिताएपछि नयाँ व्यवसाय सुरु गर्ने उद्देश्यले कम्पनी छाड्न लागेको जानकारी दिएकी छन्। उनका अनुसार एनजीको जिम्मेवारी हस्तान्तरणका लागि पछिल्लो ६ महिनादेखि योजना कार्यान्वयन भइरहेको थियो।

बाइनान्सका प्रयोगकर्ताको ६ अर्ब ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी ह्याकरहरूले चोरी गरेको एक साताभन्दा केही बढी समयपछि एनजीले पद छाड्न लागेका हुन्। घटनापछि कम्पनीले केही दिनसम्म रकम झिक्न रोक लगाएको थियो। कारोबार पुनः सुरु भएपछि पहिलो केही घण्टामै प्रयोगकर्ताले कुल ३ अर्ब ६० करोड डलर बराबरको रकम झिकेका थिए।

बाइनान्स र अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले उक्त साइबर आक्रमणमा उत्तर कोरियाली समूह ‘ट्रेडरट्रेटर’ संलग्न रहेको आरोप लगाएका छन्।

कम्पनीले चोरी भएको रकमबाट भएको सम्पूर्ण क्षति आफैँले बेहोर्ने पनि जनाएको छ। ‘चोरी भएको रकमको आर्थिक भार बाइनान्सले नै बेहोर्नेछ। यो क्षति प्रयोगकर्तामाथि सारिने छैन,’ कम्पनीले भनेको छ।

एनजीको स्थानमा जस्टिन येकले प्रमुख वित्तीय अधिकृतको जिम्मेवारी सम्हाल्ने टेकक्रञ्चले उल्लेख गरेको छ।

Sajilo Visa
easy care