Highlight News

वैज्ञानिकहरूले विकास गरे मस्तिष्कको गतिविधि विश्लेषण गरी देखेका तस्बिर पुनः निर्माण गर्न सक्ने एआई प्रणाली

वैज्ञानिकहरूले विकास गरे मस्तिष्कको गतिविधि विश्लेषण गरी देखेका तस्बिर पुनः निर्माण गर्न सक्ने एआई प्रणाली
तस्बिर: लाइभसाइन्स
Global IME Bank

वैज्ञानिकहरूले मानिसको मस्तिष्कको गतिविधि विश्लेषण गरेर उसले हेरेका तस्बिर पुनः निर्माण गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकास गरेका छन्। ‘ब्रेन–आईटी’ नाम दिइएको यो प्रणालीले मस्तिष्कको स्क्यानबाट दृश्य पहिचान गरी त्यसलाई तस्बिरमा बदल्न सक्छ।

इजरायलको वाइमन इन्स्टिच्युट अफ साइन्सका अनुसन्धानकर्ताहरूले विकास गरेको यो प्रणालीले फङ्सनल म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एफएमआरआई) प्रविधिबाट प्राप्त मस्तिष्कको गतिविधिसम्बन्धी तथ्यांक प्रयोग गर्छ। विशेषगरी दृश्य प्रशोधन गर्ने मस्तिष्कको भाग भिजुअल कोर्टेक्समा हुने गतिविधिलाई विश्लेषण गरेर व्यक्तिले कस्तो दृश्य देखेको थियो भन्ने अनुमान गर्छ।

यसका लागि प्रणालीले मस्तिष्कको स्क्यानबाट प्राप्त हजारौँ सूक्ष्म संकेतलाई दृश्य सूचनाका आधारमा १२८ समूहमा विभाजन गर्छ। त्यसपछि ती समूहबाट प्राप्त संकेतलाई संयोजन गरेर तस्बिरको आकार, रङ, वस्तु र दृश्यको संरचनाबारे जानकारी निकाल्छ।

अनुसन्धानकर्ताका अनुसार मस्तिष्कका विभिन्न भागले दृश्यका फरक विशेषता प्रशोधन गर्छन्। केही भागले तस्बिरका किनारा, बनावट र स्थान पहिचान गर्छन् भने अन्य भागले अनुहार, शरीर र दृश्यजस्ता जटिल विषय पहिचान गर्छन्।

ब्रेन–आईटीले यसरी प्राप्त जानकारी एआईमा आधारित तस्बिर निर्माण प्रणालीलाई उपलब्ध गराउँछ। त्यसले दृश्यको सम्भावित संरचना र त्यसमा रहेका वस्तुका आधारमा तस्बिर तयार पार्छ।

लाइभसाइन्सका अनुसार यो प्रणालीको विशेषता भनेको फरक व्यक्तिको मस्तिष्कबाट प्राप्त तथ्यांकमा समेत काम गर्न सक्नु हो। यसअघि यस्ता प्रणाली प्रायः प्रत्येक व्यक्तिका लागि छुट्टाछुट्टै तालिम दिनुपर्ने अवस्थामा थिए। तर ब्रेन–आईटीले विभिन्न व्यक्तिको तथ्यांकबाट सिकेको जानकारी अर्को व्यक्तिमा समेत प्रयोग गर्न सक्छ।

अनुसन्धानका क्रममा नयाँ सहभागीको एक घण्टाको एफएमआरआई तथ्यांक प्रयोग गर्दा यसले पहिलेका विधिले ४० घण्टाको तथ्यांकबाट प्राप्त गर्ने जस्तै स्तरको नतिजा दिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। परीक्षणमा यसले अघिल्ला प्रमुख विधिभन्दा राम्रो नतिजा देखाएको अध्ययनमा उल्लेख छ।

तर यसलाई मानिसको विचार वा स्मृति पढ्ने प्रविधिका रूपमा बुझ्न नहुने अनुसन्धानकर्ताहरूको भनाइ छ। यसले व्यक्तिले प्रत्यक्ष रूपमा हेरेको दृश्य पुनः निर्माण गर्न सक्छ, तर उसले सम्झिएको वा कल्पना गरेको दृश्य निकाल्न सक्दैन। अनुसन्धानका क्रममा सहभागीले देखेको वास्तविक तस्बिर पनि अनुसन्धानकर्तालाई थाहा हुने भएकाले प्रणालीलाई त्यसैका आधारमा तालिम र परीक्षण गरिन्छ।

त्यस्तै, एआईले तयार पारेको तस्बिर पूर्ण रूपमा मस्तिष्कबाट प्राप्त संकेतमा मात्र आधारित हुँदैन। तस्बिर निर्माण गर्ने अर्को एआई प्रणालीले आफूले पहिले सिकेका दृश्यका आधारमा हराएका विवरण थप्ने र तस्बिरलाई स्पष्ट बनाउने काम पनि गर्छ। त्यसैले पुनः निर्माण गरिएको तस्बिर वास्तविक दृश्यसँग मिल्दोजुल्दो देखिए पनि त्यसमा केही विवरण एआईले आफैँ थपेको हुन सक्छ।

यस प्रविधिको अर्को चुनौती एफएमआरआई स्क्यान महँगो र प्रयोग गर्न असहज हुनु हो। अनुसन्धानकर्ताहरू अहिले टाउकोमा इलेक्ट्रोड राखेर मस्तिष्कको विद्युतीय गतिविधि मापन गर्ने ईईजी प्रविधिबाट पनि यस्तै नतिजा निकाल्न सकिने सम्भावनाबारे प्रारम्भिक अध्ययन गरिरहेका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार भविष्यमा यस्तो प्रविधिले मल्टिपल स्क्लेरोसिस (एमएस), पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी), अटिजम तथा अन्य मानसिक र स्नायु प्रणालीसम्बन्धी अवस्थाको अध्ययन तथा पहिचानमा सहयोग पुर्‍याउन सक्छ।

यो अनुसन्धान सन् २०२६ को आईसीएलआर सम्मेलनमा प्रस्तुत गरिएको थियो। यसको अध्ययन प्रतिवेदन प्रिप्रिन्ट अनुसन्धान भण्डार आर्काइभमा प्रकाशित गरिएको छ।

Sajilo Visa
easy care