पृथ्वीतर्फ खस्दै गरेको नासाको स्विफ्ट अन्तरिक्ष वेधशालालाई बचाउने अभियान फेरि स्थगित

  • Technology Khabar | २० असार २०८३, शनिबार
पृथ्वीतर्फ खस्दै गरेको नासाको स्विफ्ट अन्तरिक्ष वेधशालालाई बचाउने अभियान फेरि स्थगित

काठमाडौं ।

पृथ्वीतर्फ खस्दै गरेको नासाको स्विफ्ट अन्तरिक्ष वेधशालालाई बचाउने अभियान फेरि स्थगित भएको छ।

नासाको निल गेह्रेल्स स्विफ्ट वेधशालालाई पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नबाट रोक्न पठाइने उद्धार अन्तरिक्षयानको प्रक्षेपण पुनः स्थगित भएको हो।

यो अभियान बिहीबार बिहान ५:०९ बजे (०९०९ जीएमटी) मार्शल टापुबाट प्रक्षेपण गर्ने तयारी थियो। यसअन्तर्गत परिमार्जित लकहिड मार्टिन एल-१०११ विमानबाट नर्थरोप ग्रुम्यान पेगासस एक्सएल रकेटमार्फत ‘लिङ्क’ नामक रोबोटिक अन्तरिक्षयानलाई कक्षामा पठाउने योजना थियो।

कक्षामा पुगेपछि लिङ्कले सन् २००४ मा प्रक्षेपण गरिएको नासाको निल गेह्रेल्स स्विफ्ट वेधशालासँग भेट गरी त्यसलाई उच्च कक्षामा पुर्‍याउने लक्ष्य राखिएको छ। तर प्रक्षेपण यानमा देखिएको प्राविधिक समस्याका कारण अभियान स्थगित भएको हो। लगातार दोस्रो दिन प्रक्षेपण रोकिएको यो दोस्रो घटना हो।

लाइभसाइन्सका अनुसार करिब ३ करोड डलर लागतमा निजी कम्पनी क्याटालिस्ट स्पेसले विकास गरेको लिङ्कमा रोबोटिक हात र थ्रस्टर जडान गरिएको छ। यसले पृथ्वीतर्फ बिस्तारै झर्दै गएको स्विफ्ट वेधशालालाई समातेर उच्च कक्षामा लैजाने प्रयास गर्नेछ।

पृथ्वीको वायुमण्डलीय प्रतिरोधका कारण स्विफ्टको उचाइ निरन्तर घटिरहेको छ। सहयोग नपाए यस वर्षभित्रै यो पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने वैज्ञानिकहरूको अनुमान छ।

“यो उच्च जोखिम तर ठूलो उपलब्धि हासिल गर्न सक्ने अभियान हो,” नासाको एस्ट्रोफिजिक्स डिभिजनका निर्देशक शन डोमागल-गोल्डम्यानले भने। “स्विफ्टको क्षमताको विकल्प निर्माण गर्नुभन्दा यसलाई उच्च कक्षामा पुर्‍याउने प्रयास कम खर्चिलो छ। साथै यसले उपग्रह मर्मतसम्भार प्रविधिको विकासमा पनि सहयोग पुर्‍याउनेछ।”

सन् २००४ मा करिब २५ करोड डलर लागतमा प्रक्षेपण गरिएको स्विफ्ट वेधशालाको हालको मूल्य मुद्रास्फीति समायोजन गर्दा करिब ४५ करोड डलर बराबर हुने अनुमान छ। यसको मुख्य उद्देश्य विशाल ताराहरू ब्ल्याक होलमा रूपान्तरण हुँदा उत्पन्न हुने गामा-रे विस्फोटको अध्ययन गर्नु हो। पछिल्ला दुई दशकमा यसले गामा-रे विस्फोट, एक्स-रे फ्लेयर, सुपरनोभा, धूमकेतु र क्षुद्रग्रहलगायत विभिन्न खगोलीय घटनाको अवलोकन गर्दै आएको छ।

“ब्रह्माण्ड अध्ययनका लागि स्विफ्ट नासाको बहुउपयोगी उपकरण हो,” स्विफ्ट अभियानका प्रमुख अनुसन्धानकर्ता तथा नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका खगोलभौतिकविद् एस. ब्राड्ली सेन्कोले भने। “यसले विभिन्न प्रकारका प्रकाशको प्रयोग गरेर आकाशको अवलोकन गर्छ र छोटो समयका खगोलीय घटनाबारे अन्तरिक्ष तथा पृथ्वीमा रहेका अन्य वेधशालालाई तुरुन्त जानकारी दिन्छ।”

स्विफ्टलाई सुरुदेखि मर्मत वा सेवा गर्न मिल्ने गरी डिजाइन नगरिएका कारण उद्धार अभियान चुनौतीपूर्ण मानिएको। पछिल्ला वर्षहरूमा बढेको सौर्य गतिविधिका कारण पृथ्वीको वायुमण्डल फैलिँदा वायुमण्डलीय प्रतिरोध बढेको र स्विफ्ट अपेक्षाभन्दा छिटो पृथ्वीतर्फ झर्न थालेपछि नासाले गत सेप्टेम्बरमा मात्र क्याटालिस्ट स्पेसलाई यो जिम्मेवारी दिएको थियो।

स्विफ्टलाई बचाउन समय बढाउन नासाले यसको सञ्चालन योजनामा पनि परिवर्तन गरेको छ। वायुमण्डलीय प्रतिरोध कम हुने गरी यसको अवलोकन गतिविधि सीमित गरिएको छ भने सौर्य प्यानललाई पनि कम प्रतिरोध हुने अवस्थामै सञ्चालन गरिएको छ।

नासाका अनुसार यी परिवर्तनले स्विफ्टलाई कम्तीमा शरद ऋतुसम्म उद्धार गर्न आवश्यक न्यूनतम २९८ किलोमिटर उचाइभन्दा माथि राख्न मद्दत गर्नेछ। लिङ्कलाई स्विफ्टसम्म पुग्न करिब एक महिना लाग्ने अनुमान गरिएको छ।

स्विफ्टसँग भेट भएपछि लिङ्कले आफ्नो रोबोटिक हात प्रयोग गरेर वेधशालालाई समात्नेछ र बिस्तारै करिब ५९५ किलोमिटर उचाइको नयाँ कक्षामा पुर्‍याउनेछ। यो उचाइ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको कक्षाभन्दा पनि माथि हुनेछ।

नासाले नयाँ कक्षामा पुगेपछि स्विफ्टले कति वर्षसम्म काम गर्न सक्नेछ भन्ने खुलाएको छैन। तर युरोपेली अन्तरिक्ष एजेन्सीका तथ्यांकअनुसार करिब ५०० किलोमिटर उचाइमा रहेका अन्तरिक्षयान करिब २५ वर्षपछि मात्र पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने सम्भावना हुन्छ।

त्यसैले स्विफ्टका उपकरणहरू सञ्चालनयोग्य रहेमा यसले अझ धेरै वर्षसम्म वैज्ञानिक अवलोकन जारी राख्न सक्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

नासाको सबैभन्दा प्रतिष्ठित अन्तरिक्ष टेलिस्कोप स्विफ्टलाई पृथ्वीमा खस्नबाट बचाउने यस्तो छ योजना

प्रकाशित: २० असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार