ताजा समाचार

एआई प्रतिस्पर्धामा तीव्र गति आवश्यक रहेको दक्षिण कोरियाली राष्ट्रपति लीको भनाई

एआई प्रतिस्पर्धामा तीव्र गति आवश्यक रहेको दक्षिण कोरियाली राष्ट्रपति लीको भनाई
तस्बिर: रोयटर्स
Global IME Bank

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले विश्वव्यापी कृत्रिम बुद्धिमता (एआई) प्रतिस्पर्धामा अघि बढ्न देशले तीव्र गतिमा काम गर्नुपर्ने बताएका छन्। उनले शनिबार दक्षिणपूर्वी सहर उल्सानमा निर्माणाधीन डेटा सेन्टरको अवलोकन गर्दै यस्तो बताएका हुन्।

“अहिले विश्वभर प्रतिस्पर्धा भइरहेको छ र यसमा गति निकै महत्वपूर्ण छ,” राष्ट्रपति लीले अवलोकनका क्रममा सार्वजनिक गरिएको भिडियोमा भनेका छन्।

डेटा सेन्टरहरू चिप्सको माग बढाउने प्रमुख आधार हुन्। दक्षिण कोरियाको दोस्रो ठूलो व्यावसायिक समूह एसके ग्रुपले निर्माण गरिरहेको यो परियोजना सफल भएमा विश्वका अन्य एआई कम्पनीबाट थप लगानी आकर्षित हुने आशा आफूले गरेको लीले बताए।

एसके ग्रुपले अमेजन वेब सर्भिसेज (एडब्लूएस) सँगको सहकार्यमा उल्सान डेटा सेन्टर निर्माण गरिरहेको छ। दक्षिण कोरियाको विज्ञान मन्त्रालयले गत वर्ष सार्वजनिक गरेको विवरणअनुसार, सन् २०२९ सम्म यस परियोजनामा करिब ७ ट्रिलियन वन (५ अर्ब २० करोड अमेरिकी डलर) लगानी हुने अनुमान गरिएको छ। यस डेटा सेन्टरले सन् २०२७ को दोस्रो छमाहीदेखि सञ्चालन सुरु गर्ने लक्ष्य राखेको छ।

एसके ग्रुपका अध्यक्ष चे ताए वोनले गत सेप्टेम्बरमा निर्माणाधीन डेटा सेन्टरको प्रारम्भिक क्षमता सन् २०२९ सम्म १०३ मेगावाट हुने बताएका थिए। भविष्यमा यसको क्षमता करिब ९०० मेगावाटले थप विस्तार गर्ने योजना रहेको उनको भनाइ थियो। परियोजना अघि बढ्दै जाँदा समूहले विश्वका अन्य प्रविधि कम्पनीसँग थप साझेदारी गर्ने योजना पनि बनाएको उनले बताएका थिए।

शनिबार राष्ट्रपति लीले एआई क्षेत्रमा हुने लगानी मुख्य रूपमा सोल आसपास केन्द्रित रहेको बताए। तर, उल्सानमा निर्माण भइरहेको परियोजनाले राजधानीबाहिरका क्षेत्रमा पनि आर्थिक तथा प्रविधिगत विकास सम्भव रहेको देखाएको उनको भनाइ थियो।

परियोजना निर्माणस्थलमा करिब ९०० जना कामदार कार्यरत रहेको जानकारी पाएपछि राष्ट्रपति लीले अत्याधुनिक पूर्वाधार निर्माणका लागि दक्ष कामदारको अभाव रहेको बताए। डेटा सेन्टर र एआई पूर्वाधार निर्माणका लागि आवश्यक जनशक्ति तयार पार्न सम्बन्धित मन्त्रालयहरूले तालिमको व्यवस्था कसरी गर्ने भन्नेबारे विचार गर्नुपर्ने पनि उनले बताए।

Sajilo Visa
easy care