सडक विस्तारले वीरगञ्जको विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध

  • Technology Khabar | ६ बैशाख २०८३, आईतवार
सडक विस्तारले वीरगञ्जको विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध
वीरगञ्ज घण्टाघर क्षेत्रमा अतिक्रमण हटाइँदै वीरगञ्ज (पर्सा), ६ वैशाखः पर्साको वीरगञ्जस्थित घण्टाघर आसपासको क्षेत्रमा सडक डिभिजन कार्यालय हेटौँडाले आइतबार डोजर प्रयोग गरी अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा अन्य संरचनाहरू भत्काइँदै । वीरगञ्जको गण्डकचोकदेखि–मितेरी पुलसम्म अतिक्रमण गरेर निर्माण गरिएका घर टहरालगायतका संरचना भत्काएको छ । तस्बिरः हिमाल लम्सालररासस

काठमाडौं ।

औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा यहाँको विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ।

सडक डिभिजन हेटौँडाले आज बिहानदेखि वीरगञ्जको मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा डोजर/एक्साभेटर लगाएर भत्काउन थालेपछि यहाँको विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको हो।

विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि दैनिक काममा समस्या हुनुका साथै जनजीवन प्रभावित भएको छ।

वीरगञ्जको गण्डकचोकबाट मितेरीपुलसम्मको क्षेत्रमा बिहान ५ः०० देखि दिउँसो ४ः३० बजेसम्म विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको छ । विद्युत् र इन्टरनेट सेवा कति बेला आउने अनिश्चितता कायमै रहेको स्थानीय बताउँछन् ।

वीरगञ्ज महानगर-६ का स्थानीय व्यापारी परशुराम कलवारले सडक विस्तारका क्रममा विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको बताए। “आज बिहानैदेखि विद्युत् र इन्टरनेट सेवा प्रभावित हुँदा जनजीवन प्रभावित भएको छ”, उनले भने, “स्थानीय प्रशासनले आवश्यक तयारीबिना सडक विस्तार गर्दा गर्मीयाममा सर्वसाधारण प्रभावित भएका छन् । बिजुली नहुँदा मोटर नचल्दा बोरिङबाट पानी निकाल्न नपाउँदा शौचालय जाने पानीको अभाव भएको छ ।”

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख विजय महतोले मितेरीपुलबाट गण्डक नहर सडक विस्तार गर्ने क्रममा विद्युत्को नियमित आपूर्ति प्रभावित हुने बताए।

“आजदेखि वैशाख ८ गतेसम्म विद्युत् सप्लाई अनियमित हुन सक्ने देखिन्छ”, उनले भने, “काबुबाहिरको मर्मत सुधार कार्यहरु बढी समय लाग्ने देखिने हुँदा बिहानैदेखि मर्मतसम्भार कार्य जारी रहेको छ।” उनले विद्युत् सेवा प्रभावित हुने भएकाले आवश्यक धैर्यता अपनाउन पनि आह्वान गरे। रासस

प्रकाशित: ६ बैशाख २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार