
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिको माध्यम बदलिएको र पोलिटिक्स डिजिटलाइज भएको भन्दै राजनीतिको नेतृत्व गर्न नेपाली कांग्रेसलाई पनि डिजिटलाइज गर्नका निम्ति नयाँ सदस्यता अधावद्यिक गर्न लागिएको बताएका हुन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधि लगायतको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले बदलिँदो राजनीतिक परिवेश र सामाजिक सञ्जालको प्रभावलाई मध्यनजर गर्दै पार्टीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।
उनले जेन्जी आन्दोलनले आन्दोलनको माध्यम फेरीएको भन्दै उनले भने, “अब सबैकुरा डिजिटल्ली हुने स्थिति बनेको छ। प्रचार पनि डिजिटल हुने मतदाता पनि डिजिटलमा जोडिने। आफ्नो एजेन्डा पनि डिजिटल्ली प्रस्तुत गर्नुपर्ने अवस्था छ।”
पौडेलले पार्टीको डिजिटल उपस्थिति र आन्तरिक सङ्गठन सुदृढीकरणका लागि गम्भीर हुन आह्वान गरेका छन्। उनले अबको चुनाव परम्परागत शैलीबाट मात्र जित्न नसकिने स्पष्ट पारे।
महामन्त्री पौडेलले सामाजिक सञ्जालमा पार्टीको प्रभाव बढाउन केन्द्रको डिजिटल युनिटले गर्ने पोस्टहरूलाई तल्लो तहसम्म पुर्याउनुपर्ने बताए।
महामन्त्री पौडेलले पार्टीका पुराना सदस्यहरूको रेकर्ड व्यवस्थित गर्न बैँकको ‘केवाइसी’ जस्तै सदस्यता अद्यावधिक गर्न लागिएको जानकारी दिए। यसले पुराना सदस्यहरूको विवरण राख्न र उनीहरूलाई पार्टीमा सक्रिय बनाउन तथा सदस्यहरुको डिजिटल सक्रियतालाई पनि जोड्न मद्दत गर्ने उनको भनाई छ।
एक पटक डिजिटल रेकर्ड भए पछि नवीकरणमा सहजता पुग्ने भन्दै उनले एक पटक आ आफ्नो स्थानबाट मेहनत गरिदिन नेताहरुलाई आग्रह गरे । सदस्यता डिजिटल अद्यावधिक गर्न लागिए पनि पुरानो खारेज नहुने भन्दै उनले यसमा अलमलमा नपर्न आग्रह गरे।
महामन्त्री पौडेलले निर्वाचन प्रचारको शैली फेरिएर डिजिटल हुन थालेको भन्दै पार्टी सर्कुलर गर्न, आम सदस्यको राय लिन तथा पार्टीका गतिविधि बारे जानकारी दिन अब डिजिटल प्रविधिको उपयोग गरिने बताए ।
उनले भने, “यदि केन्द्रले गरेको पोस्ट एकैपटक एक लाखले शेयर गर्ने स्थिति बन्यो भने हामीलाई सामाजिक सञ्जालमा कसैले हराउन सक्दैन। अब अल्गोरिदम र ब्ल्याक ह्याटसँग लड्न सक्नुभएन भने चुनाव जित्न कठिन छ । नयाँ पोलिटिक्सको भेरिएसन चेन्ज भएको कारणले हामीले आफूलाई पनि परिवर्तन गर्न खोजेका हौँ ।”
महामन्त्री पौडेलले पार्टीको सदस्य सँग पार्टी विचार लिन, जिम्मेवार बनाउन र सदस्यको क्षमताको रोष्टर तयार पार्न पनि डिजिटल अद्यावधिक आवश्यक रहेको बताए।
प्रकाशित: ६ बैशाख २०८३, आईतवार