
काठमाडौं ।
महत्त्वपूर्ण कनेक्टिभिटी तथा साइबरसुरक्षा सेवा प्रदायक सिनियाले फिनल्याण्डमा डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डीडीओएस) आक्रमणबाट सुरक्षा दिन नोकियासँग सहकार्य गरेको छ।
यो सहकार्यमार्फत नयाँ म्यानेज्ड सेक्युरिटी सर्भिस प्रोभाइडर (एमएसएसपी) मोडेल स्थापना गरिएको बताइएको छ, जसले जटिल साइबर आक्रमणबाट महत्वपूर्ण पूर्वाधार सञ्जाललाई जोगाउने लक्ष्य राखेको छ।
अन्तर्राष्ट्रिय सबमरीन केबल प्रणाली पनि सञ्चालन गर्ने सिनिया ले यस मोडेलमार्फत ग्राहकलाई २४/७ पूर्ण रूपमा व्यवस्थापन गरिएको डीडीओएस सुरक्षा सेवा दिनेछ, जसमा नोकियाका नेटवर्कमै समावेश गरिएको पहिचान र नियन्त्रण क्षमताहरू प्रयोग गरिनेछन्।
यसका लागि नोकिया डीपफिल्ड डिफेन्डर प्रयोग गरिएको छ जसले एआईमा आधारित नेटवर्क-एम्बेडेड डीडीओएस पहिचान र नियन्त्रण प्रदान गर्ने बताइएको छ। यसले फिनल्याण्डका ग्राहकका लागि आवश्यक कनेक्टिभिटी सेवा सुरक्षित राख्न र देशको डिजिटल अर्थतन्त्रलाई आधार दिने मजबुत पूर्वाधार कायम राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
दुवै कम्पनीको संयुक्त विशेषज्ञताले निरन्तर परिवर्तन भइरहने जोखिमपूर्ण वातावरणमा सञ्जालको सुरक्षा र विश्वसनीयता अझ सुधार गर्ने बताइएको छ। यस समाधानले वास्तविक समयमा सन्दर्भअनुसार जानकारी र सञ्जालभरि सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।
टेलिकम्स डटकमका अनुसार यसबाट सिनियाले आईपी नेटवर्क र फ्लो टेलिमेट्रीको विश्लेषण र सम्बन्ध स्थापना गरेर आफ्नो सञ्जाल पूर्वाधारबारे राम्रो दृश्यता प्राप्त गर्नेछ, जसले असामान्य गतिविधि छिटो पहिचान गर्न र क्षमता योजना सम्बन्धी निर्णय प्रभावकारी बनाउन मद्दत गर्नेछ।
सिनियाका विकास निर्देशक जुक्का-पेक्का लिथोभियसले भने, “नोकिया सँगको सहकार्यले हामीलाई बजारमा उपलब्ध सबैभन्दा उन्नत डीडीओएस सुरक्षा क्षमता ग्राहकलाई दिन सक्षम बनाएको छ। सिनियाको नेटवर्क अपरेशन सेन्टर र सेक्युरिटी अपरेशन सेन्टर सेवासँगै २४/७ निगरानी अनुभव र नोकियाका अत्याधुनिक प्रविधिको संयोजनले, जोखिम बढ्दै जाँदा पनि ग्राहकका सञ्जाल र इन्टरनेट सेवाहरू सुरक्षित र विश्वसनीय रहने सुनिश्चित गर्छ। यस सहकार्यले फिनल्याण्डका ग्राहकलाई बजारकै अग्रणी सुरक्षा र सञ्चालनसम्बन्धी स्पष्टता प्रदान गर्छ।”
नोकिया डीपफिल्डका उपाध्यक्ष तथा महाप्रबन्धक जेफ स्मिथले भने, “सिनिया सँगको सहकार्यले विश्वव्यापी र स्थानीय स्तरमा महत्वपूर्ण पूर्वाधार सुरक्षित गर्ने नोकिया को प्रतिबद्धता देखाउँछ। हाम्रो डीपफिल्ड र आईपी राउटिङ समाधानलाई सिनिया का व्यवस्थापन सेवासँग एकीकृत गरेर हामी शक्तिशाली साइबर सुरक्षा प्रदान गरिरहेका छौं। यसले अत्यावश्यक सञ्जालहरू सञ्चालनमा रहन र सुरक्षित रहन सुनिश्चित गर्छ, जसले जोडिएको समाजका लागि आवश्यक स्थिरता र विश्वास कायम राख्न मद्दत गर्छ।”
गत वर्षको अन्त्यतिर नोकियाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अधिकांश टेलिकम कम्पनीहरू सल्ट टाइफून शैलीका ‘लिभिङ अफ द ल्याण्ड’ आक्रमणको लक्ष्य बनेका थिए, जसले आन्तरिक सञ्जालभित्र प्रवेश गरेपछि लामो समयसम्म पत्ता नलाग्ने गरी काम गर्छ।
प्रतिवेदनले डीडीओएस आक्रमण अझै पनि लोकप्रिय माध्यम रहेको र अन्तिम उपकरणहरूको वृद्धि तथा गिगाबिट ब्रडब्यान्ड विस्तारसँगै ती बढ्दै गएको उल्लेख गरेको छ। २०२४ मा हरेक पाँच दिनमा टेराबिट स्तरका डीडीओएस आक्रमण देखिन्थे भने प्रतिवेदनको समयमा ती दैनिक रूपमा हुन थालेका थिए।
प्रकाशित: ५ बैशाख २०८३, शनिबार