काठमाडौं ।
फेङ चानजुनको कारखानामा वार्षिक रूपमा उत्पादन हुने २० लाख क्यारेट प्रयोगशालामा उत्पादित हिरामध्ये हाल करिब ७० प्रतिशत गहनाका रूपमा प्रयोग हुने गरेको छ।
यी उद्यमीले चीनको कृत्रिम हिरा उद्योगको भविष्य सेमिकन्डक्टर, एआई सर्भर तथा अन्य उच्च प्रविधिमा प्रयोग हुने सामग्रीको आपूर्तिमा रहेको विश्वास गरेका छन्।
फेङले भने, ‘सन् २०३० सम्ममा कार्यात्मक सामग्रीका रूपमा प्रयोग हुने मेरा उत्पादनको हिस्सा ५० प्रतिशतभन्दा बढी पुर्याउने लक्ष्य रहेको छ भने गहना क्षेत्रमा प्रयोग हुने उत्पादनको हिस्सा अधिकतम ३० प्रतिशतमा सीमित गर्ने योजना छ।’
विश्वभर आपूर्ति हुने प्रयोगशालामा उत्पादित हिरामध्ये करिब आधा हिस्सा चीनका उत्पादकहरूले आपूर्ति गदर्छन्। प्रतिस्पर्धा तीव्र बन्दै जाँदा र मूल्यमा दबाब बढ्दा चीनका उत्पादकहरूले गहनाभन्दा बाहिरका बजारमा अवसर खोजिरहेका छन्।
सेमिकन्डक्टर र एआई पूर्वाधारमा ताप व्यवस्थापनका लागि कृत्रिम हिराको प्रयोग व्यापक भयो भने यसको उत्पादनमा चीनको प्रभाव अमेरिकाका लागि अर्को आपूर्ति जोखिम बन्न सक्नेछ।
केन रिसर्चका इन्गेजमेन्ट म्यानेजर मनन गोएन्काले भने, ‘यो परिवर्तन अहिले हिरा उद्योगको संरचनागत रूपान्तरणको प्रमुख विषय बनेको छ। यसले विश्वव्यापी प्रविधि आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्नेछ।’
कम्पनी र विश्लेषकहरूका अनुसार चिप, ताप व्यवस्थापन र क्वान्टम प्रविधिलगायतका क्षेत्रबाट आउने माग यस उद्योगको आगामी प्रमुख वृद्धिको आधार बन्न सक्छ। इलेक्ट्रोनिक उपकरण तथा कम्प्युटिङ प्रणालीको कार्यक्षमता सुधार गर्न सक्ने विशेष गुणका कारण कृत्रिम हिरालाई महत्त्वपूर्ण सामग्रीका रूपमा हेरिएको छ।
रोयटर्सका अनुसार, एआईको विकाससँगै डाटा सेन्टरको क्षमता विस्तार गर्ने माग तीव्र रूपमा बढिरहेका बेला यो परिवर्तन आएको हो। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०२५ मा प्रकाशित प्रतिवेदनमा सन् २०३० सम्ममा डाटा सेन्टरको विद्युत् खपत दोब्बरभन्दा बढी हुँदै करिब ९४५ टेरावाट घण्टा पुग्ने अनुमान गरेको थियो। यो जापानको वार्षिक विद्युत् खपतको लगभग बराबर हो। प्रतिवेदनअनुसार यस वृद्धिको प्रमुख कारक एआई हुनेछ।
प्रकाशित: ११ कार्तिक २०८३, बुधबार