काठमाडौं ।
ओपनएआईले च्याटजीपीटीमा प्रयोगकर्ताका कुराकानीलाई अरू व्यक्तिको पहुँचबाट सुरक्षित राख्न लक्ड च्याट्स नामक नयाँ सुविधा ल्याएको छ।
यो सुविधा प्रयोग गरेपछि प्रयोगकर्ताले आफूले चाहेका केही कुराकानीलाई नियमित च्याट हिस्ट्री, पिन गरिएको कुराकानी र सर्च रिजल्टमा नदेखिने बनाउन सक्नेछन्।
यस्ता कुराकानी खोल्न चार अङ्कको पिन कोड आवश्यक पर्नेछ। आईफोन र एन्ड्रोइड फोनमा फेस आईडीजस्ता बायोमेट्रिक पनि प्रयोग गर्न सकिनेछ।
विशेषगरी सार्वजनिक स्थानमा हुँदा वा आफ्नो फोन अरू कसैलाई दिँदा निजी कुराकानी अरूले हेर्न नसकून् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको ओपनएआईले जनाएको छ।
कम्पनीले यो सुविधाले इन्ड–टु–इन्ड इन्क्रिप्सन प्रदान नगर्ने स्पष्ट पारेको छ।
कुराकानी लक गर्दैमा मोडलको तालिममा प्रयोग हुने डेटासम्बन्धी सेटिङ वा ओपनएआईले कुराकानी संकलन गरेर राख्नेमा परिवर्तन हुने छैन।
कम्पनीले प्रयोगकर्ताले आफ्नो खाताको पासवर्ड रिसेट गर्नुपर्ने अवस्थामा भने विशेष सावधानी अपनाउन चेतावनी दिएको छ। पासवर्ड रिसेट गर्दा लक गरिएका सबै कुराकानी र त्यस स्थानमा अपलोड गरिएका फाइलहरू मेटिनेछन्। यस्तो अवस्थामा ती सामग्री पुन प्राप्त गर्न नसकिने र ओपनएआईको सहायता सेवाले समेत पुन स्थापना गर्न नसक्ने कम्पनीले जनाएको छ।
टेलिग्राफका अनुसार, एन्ड्रोइड र आईओएस डिभाइसमा लक गरिएका कुराकानीसँगै भ्वाइस च्याट सुविधा पनि प्रयोग गर्न सकिनेछ। तर, कोडेक्स मा भएका कुराकानीलाई भने यो सुविधामार्फत सुरक्षित गर्न सकिने छैन।
प्रकाशित: ११ कार्तिक २०८३, बुधबार