साना रिएक्टर आउन थालेसँगै परमाणु स्टार्टअप फेरि चर्चामा, तर चुनौ भने धेरै

  • Technology Khabar | २९ पुष २०८२, मंगलवार
साना रिएक्टर आउन थालेसँगै परमाणु स्टार्टअप फेरि चर्चामा, तर चुनौ भने धेरै
तस्बिर: टेकक्रञ्च

काठमाडौं ।

परमाणु उद्योग पुनर्जागरणको चरणमा प्रवेश गरिरहेको छ। पुराना परमाणु प्लान्टहरू मर्मत–सम्भार हुँदैछन् भने लगानीकर्ताहरूले स्टार्टअपहरूमा ठूलो मात्रामा पुँजी खन्याइरहेका छन्।

२०२५ को अन्तिम केही हप्तामै मात्र परमाणु स्टार्टअपहरूले करिब १.१ अर्ब डलर लगानी जुटाएका छन्। ठूला परियोजनामा हालसालै उद्योगले भोगेका समस्याभन्दा साना परमाणु रिएक्टरहरू सफल हुने विश्वासले लगानीकर्ताको आशावाद बढाएको बताइएको छ।

टेकक्रञ्चका अनुसार परम्परागत परमाणु रिएक्टरहरू अत्यन्तै विशाल पूर्वाधार हुन्। अमेरिकामा हालै निर्माण गरिएका जर्जियाका भोग्टल–३ र ४ रिएक्टरमा दशौँ हजार टन कंक्रिट प्रयोग गरिएको छ, १४ फिट अग्ला इन्धन एसेम्ब्ली प्रयोग हुन्छन् र प्रत्येकले १ गिगावाटभन्दा बढी विद्युत् उत्पादन गर्छ। तर ती परियोजनाहरू आठ वर्ष ढिलो सम्पन्न भए र लागत २० अर्ब डलरभन्दा बढीले बढेको थियो।

नयाँ पुस्ताका परमाणु स्टार्टअपहरू रिएक्टरलाई सानो बनाएर यी दुवै समस्याबाट जोगिने आशामा छन्। थप ऊर्जा चाहियो भने थप रिएक्टर जोड्ने—यही तर्क उनीहरूको छ। साना रिएक्टरहरू सामूहिक (मास) उत्पादन प्रविधिबाट बनाउन सकिने, उत्पादन बढ्दै जाँदा दक्षता बढ्ने र लागत घट्ने उनीहरूको दावी छ।

यसबाट कति फाइदा हुन्छ भन्ने विषयमा विज्ञहरूले अझै अध्ययन गरिरहेका छन्। तर आजका परमाणु स्टार्टअपहरू यस फाइदाको प्रभाव शून्यभन्दा त बढी नै हुने अपेक्षामा निर्भर छन्।

यद्यपि उत्पादन सजिलो छैन। टेस्लाको उदाहरण नै काफी छ—अटोमोबाइल उद्योगमा अमेरिकाको बलियो अनुभव हुँदाहुँदै पनि कम्पनीले मोडल ३ ठूलो संख्यामा नाफासहित उत्पादन गर्न निकै संघर्ष गर्नुपरेको थियो। अमेरिकी परमाणु स्टार्टअपहरूसँग त्यो पनि फाइदा छैन।

“परमाणु आपूर्ति शृंखलामा काम गर्ने मेरा धेरै साथीहरू छन्, जसले अमेरिकामा नै नबनाइने पाँचदेखि दसवटासम्म सामग्रीको नाम सजिलै गन्न सक्छन्,” डीसीभीसीकी जनरल पार्टनर मिलो वेर्नरले टेकक्रञ्चलाई बताइन्। “हामी ती सामग्री विदेशबाट किन्न बाध्य छौँ। बनाउने सीप नै बिर्सिसकेका छौँ।”

उत्पादनको अनुभव वेर्नरसँग राम्रै छ। लगानीकर्तामा रूपान्तरण हुनुअघि उनले टेस्लामा नयाँ उत्पादन परिचय (एनपीआई) नेतृत्व गरिन् र त्यसअघि फिटबिटका लागि चीनमा चारवटा कारखाना सञ्चालनमा ल्याइन्। हाल डीसीभीसीमा लगानी गर्नुका साथै उनले नेक्स्टजेन इन्डस्ट्री ग्रुपको सह–स्थापना पनि गरेकी छन्, जसले उत्पादन क्षेत्रमा नयाँ प्रविधिको अपनत्व बढाउन काम गर्छ।

कुनै पनि आकारका कम्पनीले उत्पादन गर्न चाहँदा दुई प्रमुख चुनौती सामना गर्नुपर्छ, वेर्नरका अनुसार। पहिलो पूँजी हो—कारखाना सस्तो हुँदैन। तर परमाणु उद्योगका लागि यो ठूलो समस्या नहुने उनको भनाइ छ। “अहिले उनीहरूसँग पूँजीको कमी छैन,” उनले भनिन्।

तर दोस्रो चुनौती मानव पूँजीको अभावबाट परमाणु उद्योग पनि अछुतो छैन। “अमेरिकामा हामीले ४० वर्षदेखि ठूला औद्योगिक पूर्वाधार खासै बनाएका छैनौँ,” वेर्नरले भनिन्। त्यसको परिणामस्वरूप ‘मसल मेमोरी’ हराएको छ। “१० वर्ष सोफामा बसेर टिभी हेरेपछि अर्को दिन म्याराथन दौडन खोजेजस्तै हो—यो राम्रो हुँदैन।”

दशकौँको अफशोरिङपछि अमेरिकामा कारखाना निर्माण र सञ्चालन दुवैमा अनुभवी जनशक्तिको कमी छ। “केही मानिसहरू अवश्य छन्, तर सबै कम्पनीलाई अनुभवी उत्पादन टोली दिन पुग्ने संख्यामा छैनन्,” उनले भनिन्। यो अभाव मेसिन अपरेटरमा मात्र होइन—फ्याक्ट्री फ्लोर सुपरभाइजरदेखि सीएफओ र बोर्ड सदस्यसम्म देखिन्छ।

सकारात्मक पक्ष के छ भने, परमाणु सहित अन्य धेरै स्टार्टअपहरूले आफ्ना प्राविधिक टोली नजिकै उत्पादनको प्रारम्भिक चरण राखिरहेका छन्, वेर्नरले बताइन्। “यसले उत्पादनलाई अमेरिकातिरै नजिक ल्याइरहेको छ, किनकि सुधारको चक्र छिटो हुन्छ।”

मास म्यानुफ्याक्चरिङको फाइदा लिन स्टार्टअपहरूले सानोबाट सुरु गरेर विस्तार गर्दै जानु उपयोगी हुन्छ। “मोड्युलरिटीमा जोड दिनु लगानीकर्ताका लागि निकै महत्वपूर्ण छ,” वेर्नरले भनिन्। यसले सुरुमै सानो परिमाणमा उत्पादन सुरु गरेर प्रक्रियासम्बन्धी तथ्यांक संकलन गर्न मद्दत गर्छ, जसले समयसँगै सुधार देखाउन सके लगानीकर्तालाई ढुक्क पार्न सक्छ।

यद्यपि सामूहिक उत्पादनका फाइदा रातारात देखिँदैनन्। उत्पादनबाट सिकाइ हुँदै लागत घट्ने अनुमान कम्पनीहरूले गर्ने गर्छन्, तर त्यो अपेक्षाभन्दा ढिलो पनि हुन सक्छ। “धेरैजसो अवस्थामा त्यहाँ पुग्न वर्षौँ—कहिलेकाहीँ एक दशकसम्म—लाग्छ,” वेर्नरले भनिन्।

प्रकाशित: २९ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार