भियतनाममा व्यापक स्तरको अनलाइन ठगी केन्द्र स्थापना गर्ने योजना बनाइरहेको समूह पक्राऊ

  • Technology Khabar | ३० जेष्ठ २०८३, शनिबार
भियतनाममा व्यापक स्तरको अनलाइन ठगी केन्द्र स्थापना गर्ने योजना बनाइरहेको समूह पक्राऊ
सांकेतिक तस्बिर

काठमाडौं ।

भियतनाममा व्यापक स्तरको अनलाइन ठगी केन्द्र स्थापना गर्ने योजना बनाइरहेको आशंकामा एक समूहलाई प्रहरीले पक्राउ गरेको छ। दक्षिणपूर्वी एसियाभर आपराधिक सञ्जालहरूले आफ्नो गतिविधि विस्तार गरिरहेका बेला शुक्रबार अधिकारीहरूले यो जानकारी दिएका हुन्।

सार्वजनिक सुरक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार फु थो प्रान्तको प्रहरीले कम्बोडियामा सञ्चालन भइरहेका अनलाइन ठगी सञ्जालसँग सम्बन्धित एक अन्तरदेशीय समूहको गतिविधि पत्ता लगाएर अवरुद्ध गरेको हो। उक्त समूहले भियतनाममा ठूलो ठगी केन्द्र स्थापना गर्ने तयारी गरिरहेको बताइएको छ। एक चिनियाँ नागरिक र तीन भियतनामीसहित चार जनालाई पक्राउ गरिएको रोयटर्सले उल्लेख गरेको  छ।

अनुसन्धानकर्ताहरूका अनुसार, समूहले आफ्नो तयारीका क्रममा दर्जनौं व्यक्तिलाई राख्न हानोई, लाओ काई र फु थोमा रहेका विभिन्न रिसोर्ट, फार्मस्टे र भिल्ला भाडामा लिएको थियो। तीमध्ये धेरैले यसअघि कम्बोडियाका ठगी केन्द्रहरूमा काम गरिसकेका थिए।

प्रहरीले अनलाइन ठगीका लागि प्रयोग गरिएको आशंकामा दर्जनौं कम्प्युटर, सयौं मोबाइल फोन र इन्टरनेट उपकरण पनि बरामद गरेको छ। अधिकारीहरूका अनुसार उक्त केन्द्र सञ्चालनमा आउनै लागेको अवस्थामा थियो।

मन्त्रालयका अनुसार यो कारबाहीले भियतनामभित्र ठूलो स्तरको अन्तरदेशीय उच्च-प्रविधि ठगी केन्द्र स्थापना हुनबाट रोकेको छ। साथै यसले राष्ट्रिय सुरक्षाको रक्षा गर्न र नागरिकहरूको सम्पत्ति जोगाउन पनि सहयोग गरेको छ।

बुधबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा एण्ड्र्यू बेलीले ठगी केन्द्रहरूलाई “आज विश्वले सामना गरिरहेका सबैभन्दा गम्भीर खतरामध्ये एक” भनेका थिए। उनले दक्षिणपूर्वी एसियाभर यस्ता गतिविधिको प्रभाव तीव्र गतिमा बढिरहेको चेतावनी दिएका थिए।

बेलीका अनुसार यस्ता गतिविधि मानिस, पैसा र प्रविधिलाई सीमापार सार्ने परिष्कृत अन्तरदेशीय सञ्जालहरूले सञ्चालन गर्छन्। ती सञ्जालहरूले कमजोर शासन व्यवस्था र नयाँ प्रविधिको फाइदा उठाएर विश्वव्यापी रूपमा विस्तार गरिरहेका छन्।

एम्नेस्टी इन्टरनेशनलले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा कम्बोडियामा रहेका विश्वव्यापी ठगी केन्द्रका रूपमा शंकास्पद दर्जनौं परिसरहरू महिनौँ लामो सरकारी कारबाहीपछि पनि अझै सञ्चालनमा रहेको उल्लेख गरेको छ।

प्रकाशित: ३० जेष्ठ २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...